|  

नेपालमा दुई खर्ब ६४ अर्ब वैदेशिक लगानी भित्रियो

१२ आश्विन २०८०, शुक्रबार १०:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा नेपालमा दुई खर्ब ६४ करोड रूपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको जनाएको छ।

राष्ट्र बैंकले २०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। जसमध्ये भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिङ्गापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।

राष्ट्र बैंकका अनुसार नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ। औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ।

यसै गरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ। वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको छ।

प्रतिबद्धता धेरै, लगानी कम

उद्योग विभागमा वैदेशिक लगानीका लागि प्रतिबद्धता धेरै आउने भए पनि यसका लागि भित्रिने रकम भने निकै कम छ। नेपाल राष्ट्र बैंकका अनुसार आव २०७८/७९ मा प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रूपैयाँ भित्रिएको थियो। सो आवमा वैदेशिक लगानीमध्ये ८८.५ प्रतिशत उद्योग क्षेत्रमा, ३.५ प्रतिशत सेवा क्षेत्रमा र अन्य क्षेत्रमा ७.९ प्रतिशत भित्रिएको थियो।

आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक लगानी १९ अर्ब ५१ करोड रूपैयाँ भित्रिएको थियो। उद्योग विभागमा वैदेशिक लगानीका लागि प्रतिबद्धता धेरै आउने भए पनि त्यसका लागि भित्रिने रकम निकै कम छ। आर्थिक वर्ष २०७६/७७ मा पनि १९ अर्ब ४७ करोड विदेशी लगानी भित्रिएको थियो।

आर्थिक वर्ष २०७५/७६ मा करिब १३.१ अर्ब रूपैयाँ वैदेशिक लगानीमार्फत भित्रिएको थियो। बैंकका अनुसार २०७४/७५ मा १७.५ अर्ब रूपैयाँ वैदेशिक लगानी भित्रिएको थियो।

त्यसैगरी आव २०७३/७४ मा १७.५ अर्ब, आव २०७२/७३ मा १३.५ अर्ब, २०७१/७२ मा ५.९ अर्ब रूपैयाँ भित्रियो। त्यसैगरी २०७०/७१ मा भने ४.४ अर्ब वैदेशिक लगानी भित्रिएको थियो।

सर्वेक्षण प्रतिवेदन सार्वजनिक

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल दुई सय ३१ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ तयार पारिएको छ।नागरिक न्युजबाट ।

१२ आश्विन २०८०, शुक्रबार १०:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस