|  

एमालेभित्रै कमजोर बने केपी ओली

१२ आश्विन २०८०, शुक्रबार १०:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । कुनै बेला पार्टीमा दबदबा राखेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय कमजोर देखिएका छन् । एमालेको प्रदेश तहको अधिवेशनलाई हेर्दा उनलाई सर्वमान्य नेताको रुपमा नेता तथा कार्यकर्ता स्वीकार गरेनन् । माधवकुमार नेपाल र झलनाथ खनाल छुट्टिएर गएसँगै एमालेभित्र ओली निकै बलशाली देखिएका थिए । उनले बोलेको बोली नै नीति जस्तो गरी एमाले अघि बढेको थियो ।

पछिल्लो समय एमालेमा नै उनको बोली पालना हुन सकेको छैन । अहिले एमालेको प्रदेश अधिवेशनहरु चलिरहेको छ । प्रदेशको अधिवेशनमा ओलीले सर्वसम्मतको नाम दिएर आफू निकटलाई अघि बढाउने प्रयत्न गरिरहेका छन् । तर, त्यो उनको प्रयत्न पूर्ण बिफल बनेको छ । यसअघि नै उनले लुम्बिनीको अधिवेशनमा आफू निकटलाई अगाडि बढाउन चाहे । तर, ओलीको केही सीप चलेन ।

एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भए । ओली निकटका प्रतिस्पर्धी हरि रिजाललाई कँडेलले २ मतले पराजित गरेका थिए । कँडेल पूर्वराष्ट्रपति विद्या भण्डारी निकट हुन् भने रिजाल ओली निकट मानिन्छन् । जहाँ ओलीको योजना पूर्ण विफल भएको थियो ।

यता, बागमती प्रदेशमा समेत ओलीको बोली पालना भएन । ओलीले उद्घाटन शत्रमा सर्वसम्मत अध्यक्ष निर्वाचित गर्न आदेश दिएका थिए । तर, बागमतीमा पनि ओलीको निर्देशनविपरित चुनावी प्रक्रिया सुरु हुँदैछ । बागमतीमा अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा गर्ने तयारी छ ।

दाहाल र ढुंगेल नै निर्वाचन लडेर अध्यक्ष बन्ने तयारीमै छन् । अन्य उम्मेदवारहरू केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएका पाण्डेले ढुंगेललाई समर्थन गर्ने घोषणा गरेका छन् भने श्रेष्ठ र बुढाथोकीले दाहाललाई समर्थन गर्ने बताएका छन् ।

ढुंगेल महासचिव शंकर पोखरेल र दाहाल उपाध्यक्ष विष्णु पौडेल निकट रहेको बताइन्छ । एमालेका उच्च नेताहरुले बताएअनुसार पोखरेल निकट मानिने ढुंगेल नै ओलीका पनि उम्मेदवार हुन् । ढुंगेलले हारेमा यहाँ पनि ओलीको बर्चस्व सकिने छ ।

यता, कर्णाली प्रदेशमा पनि हविगत उस्तै छ । नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्दा बन्दसत्र सुरु गर्न ढिलाइ भएको एमाले प्रदेश कर्णालीले जनाएको छ । केही नेताहरुले भने आन्तरिक तयारी नपुगेका कारण बन्दसत्र ढिला भएको बताएका छन् ।

महासचिव शंकर पोखरेलको उपस्थितिमा सहमतिका लागि नेताहरुले दिनभर छलफल गरेका थिए । तर, सहमतिको प्रयास असफल भएपछि महासचिव पोखरेल दिउँसै काठमाडौं फर्किइसकेका छन् । काठमाडौं फर्किनुअघि नेता पोखरेलले सहमतिमै नेतृत्व चुन्न निर्देशन दिएका थिए ।

बुधबार अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिमै प्रदेश कमिटीको नेतृत्व चयन गर्न सुझाएर काठमाडौं फर्किएका थिए । यद्यपि, सहमतिअनुसार अध्यक्ष चुनिने सम्भावना कम रहेको नेताहरुले बताएका छन् ।

प्रदेश अध्यक्षका लागि स्थायी कमिटी सदस्य यमलाल कँडेलको समूहबाट गुलाबजंग शाह अध्यक्षका आकांक्षी छन् भने अर्का स्थायी कमिटी सदस्य गोरख बोगटी समूहबाट मीनबहादुर शाहीको नाम चर्चामा छ ।

कर्णाली प्रदेशसभाका पूर्वसभामुखसमेत रहेका राजबहादुर शाही समेत अध्यक्षका दाबेदार हुन् । तर, अहिलेसम्म कुनै नेताले पनि उम्मेदवारी भने घोषणा गरेका छैनन् । अध्यक्षका आकांक्षी तीन जनाभन्दा बढी देखिएकाले सहमति जुट्ने सम्भावना कम रहेको बताइएको छ ।

ओलीको बोली एमालेमै बिक्न छाडेपछि भने उनी निकट नेताहरू निरुत्साहित बन्न थालेका छन् । ओली पछि उनको उत्तराधिकारी बन्ने सपना देखेकाहरू अहिले गुट परिवर्तनको खेलमा रहेको बताइन्छ । सुत्रन्यूज बाट ।

१२ आश्विन २०८०, शुक्रबार १०:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस