|  

नुवाकोट र रसुवामा निर्माण गरिएका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन

१७ कार्तिक २०८०, शुक्रबार १२:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ ।

जर्मन सरकारद्वारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकामा रहेको कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीवार उद्घाटन गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लूका नेपाल तथा बङ्लादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल शम्शेर हेलिस्टनले संयुक्त रुपमा रातामाटे सबस्टेसन उद्घाटन गरेका छन् । यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र केएफडब्लूका दक्षिण एसियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले संयुक्त रुपमा कालिकास्थान सबस्टेसनको उद्घाटन गरेका थिए । यो सबस्टेसनहरुबाट स्थानीय रुपमा विद्युत् आपूर्ति दिइएको छ ।

जर्मन सरकारले केएफडब्लू विकास बैंकमार्फत २०७२ सालको विनाशकारी भूकम्पपछि नुवाकोट र रसुवाको विद्युत् वितरणप्रणाली सञ्जाल पुनर्निर्माण, विस्तार तथा सुदृढीकरणका लागि ५० लाख युरो अनुदान रकम दिएको थियो । यो अनुदान रकमबाट दुईवटा वितरण सबस्टेसन, ३३ केभी, ११ केभी र एलटी लाइन निर्माण गरिएको छ । यसबाट दुई जिल्लाका १ हजार २ सयभन्दा बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउने छन् ।

१७ कार्तिक २०८०, शुक्रबार १२:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस