|  

न्युजिल्याण्डलाई हराउँदै भारत विश्वकपको फाइनलमा

३० कार्तिक २०८०, बिहीबार ०६:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । भारत आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा पुगेको छ । बुधबार भएको सेमिफाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै घरेलु टोली भारत फाइनलमा प्रवेश गरेको हो । वानखडेमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई ७० रनले पराजित ग¥यो ।

भारतले दिएको ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८।५ ओभरमा सबै विकेट गुमाएर ३२७ रन बनायो । न्युजिल्याण्डका डेरियल मिचेलले शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ११९ बलमा ९ चौका र ७ छक्को मद्दतमा १३४ रन बनाए । यस्तै कप्तान केन विलियम्सनले ६९ रन तथा ग्लेन फिलिप्सले ४१ रन बनाएपनि अन्य ब्याटरले राम्रो रन बनाउन सकेनन् । भारतका मोहम्मद शामीले ७ विकेट लिए । उनले ९।५ ओभर बलिङ गर्दै ५७ रन खर्चिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३९७ रन बनाएको थियो । भारतका लागि विराट कोहली र श्रेयस ऐयरले शतक बनाए । कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी ५० औँ शतक बनाए । उनले सचिन तेन्दुल्करको ४९ शतकको रेकर्ड तोडेका हुन् ।

कोहलीले ११३ बलमा ९ चौका र २ छक्काको मद्दतमा ११७ रन बनाए । यस्तै श्रेयसले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन बनाए । शुभमन गीलले ८० रन बनाउँदा कप्तान रोहित शर्माले ४७ तथा केएल राहुलले ३९ रन बनाए । न्युजिल्याण्डका टीम साउदीले १० ओभरमा १०० रन दिएर ३ विकेट लिए ।

भारतले अब बिहिबार हुने अस्ट्रेलिया र साउथ अफ्रिकाबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिको लागि खेल्नेछ ।

३० कार्तिक २०८०, बिहीबार ०६:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस