|  

खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा दाङमा तीन जना पक्राउ

२ मंसिर २०८०, शनिबार १८:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । दाङमा खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले दाङको घोराहीबाट तीन जनालाई पक्राउ गरेको हो । खुकुरी प्रहार गरी फरार भएका तीनै जनालाई घोराही उपमहानगरपालिका–९ तेघरामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुशिल थापामगरले जानकारी दिनु भएको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ का २४ वर्षीय शैलेश शाह, घोराही–१५ का २५ वर्षीय मिस्चल बुढामगर र घोराही–१५ कै २५ वर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

उनीहरुले घोराही उपमहानगरपालिका–१५ गोरखा हस्पिटल रोड नजिकै हिँडिरहेको अवस्थामा घोराही–१५ का २१ वर्षीय कृतिक बुढामगरलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।

गम्भीर घाइते कृतिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको भए पनि त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ।

प्रहरीले खुकुरी प्रहार गर्ने तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको बताएको छ ।

२ मंसिर २०८०, शनिबार १८:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस