|  

अनलाइनबाट ठगी गर्ने ९ जना धनगढीबाट पक्राउ

७ मंसिर २०८०, बिहीबार १३:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । विभिन्न प्रलोभनमा पारि अनलाइनबाट ठगी गर्ने नौ जनालाई प्रहरीले कैलालीको धनगढीबाट पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले हिजो बेलुका उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा डोटी शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर, कञ्चनपुर पुनर्वास नगरपालिका–६ का २९ वर्षीय मिनबहादुर सुनार, बेलडाडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार र २८ वर्षीय कमल सुनार, ३२ वर्षीय अमित कुमार, २२ वर्षीय जयराम सुनार, २६ वर्षीय कुनाल शर्मा, २४ वर्षीय मिथिल कुमार र १९ वर्षीय प्रियंसु ठाकुर रहेका छन् ।

उनीहरुको साथबाट ल्यापटप ११ थान, विभिन्न कम्पनीका मोबाइल ८ थान, राउटर १ थान, हेडफोन १२ थान र एउटा किबोर्ड बरामद गरिएको छ । चन्दले भन्नुभयो, पक्राउ परेकामध्ये विशाल सुनारको नामबाट धनगढीमा अवैध रुपमा आईटी सेन्टर सञ्चालन गरिएको थियो ।

धनगढी उपमहानगरपालिका–५ तारानगरमा घर भाडा लिएर उनीहरुले विभिन्न ठाउँका नागरिकलाई प्रलोभनमा पारि अनलाइन ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुले विदेशी नागरिकलाई समेत ठगी गरेका प्रहरीले जनाएका छन् ।

 

७ मंसिर २०८०, बिहीबार १३:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस