|  

अनलाइनबाट आइटी सेन्टर खोलेर विदेशीलाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित नौजना पक्राउ

८ मंसिर २०८०, शुक्रबार १४:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


अनलाइन माध्यमबाट विदेशी नागरिक ठगी गरेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट चारजना भारतीय नागरिकसहित नौजनालाई पक्राउ गरेको छ । उनीहरूले धनगढीमा आइटी सेन्टर सञ्चालन गरेर अनलाइनबाट पोल्यान्डलगायत देशका नागरिकलाई संगठित रूपमा ठगी गर्दै आएको प्रहरीले दाबी गरेको छ ।

पक्राउ परेकाबाट २९ लाख ३२ हजार तीन सय भारु, ११ थान ल्यापटप, ११ थान मोबाइललगायत सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी भरतबहादुर बोहराले जानकारी दिए । उनीहरूले भिसिडायल सफ्टवेयरको प्रयोग गरेर अनलाइनबाट ‘मनी लाउन्ड्री’, दुर्घटना बीमालगायत विषयमा पोल्यान्डलगायत देशका नागरिकलाई ठगी गर्ने गरेको पाइएको डिआइजी बोहराले बताए । प्रहरीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको बेल्डाँडी गाउँपालिका– २ बस्ने ३० वर्षीय विशाल सुनार, २८ वर्षीय कमल सुनार, २२ वर्षीय जयराम सुनार, कञ्चनपुरको पुनर्वास नगरपालिका– ६ बस्ने २९ वर्षीय मीनबहादुर सुनार र डोटीको शिखर नगरपालिका– १० बस्ने २१ वर्षीय प्रशान्त बलायर छन् । त्यस्तै, भारतको करोलबाग दिल्ली घर भएका २४ वर्षीय निखिल कुमार, १९ वर्षीय प्रिन्सु टापु, पालंगा दिल्ली घर भएका ३२ वर्षीय अमित कुमार र उत्तमनगर दिल्ली घर भएका २६ वर्षीय कुनाल शर्मा पक्राउ परेका छन् ।

नौजनाको समूहले धनगढी उपमहानगरपालिका– ५ तारानगरमा मासिक ४० हजार रुपैयाँमा घर भाडामा लिएर आइटी सेन्टर सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ । ‘आइटी सेन्टर भनेर घर भाडामा लिए पनि बोर्ड लगाइएको थिएन, उनीहरूका गतिविधि शंकास्पद देखिएपछि प्रहरीले केही दिनदेखि निगरानी गरिरहेको थियो,’ डिआइजी बोहराले भने, ‘अनलाइनबाट विदेशी नागरिकलाई प्रलोभन पार्ने र धम्क्याएर ठगी गर्ने गरेको देखिएपछि छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएका हौँ ।’ प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार बेलुकी आइटी सेन्टरमा छापा हानेको थियो । प्रदेश प्रहरी कार्यालयले पक्राउ परेकालाई बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा विदेशी नागरिकलाई ठगी गर्ने यो गिरोहका मुख्य नाइके भारतको दिल्ली बस्ने सूर्य सरदार रहेको खुलेको प्रहरीले जनाएको छ ।

८ मंसिर २०८०, शुक्रबार १४:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस