|  

भारतलाई बेच्यो प्राधिकरणले १५ अर्ब २४ करोडको बिजुली

२२ मंसिर २०८०, शुक्रबार १३:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोडबराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो।

प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी रु। १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो।

प्राधिकरणले यस अवधिमा दैनिक रूपमा अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो। निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ।

चालू आर्थिक वर्ष ०८०र८१ को साउनदेखि २० मंसिरसम्ममा रु। १३ अर्ब २३ करोड ६७ लाखको विद्युत् निर्यात गरिएको छ। यस अवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ। निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ९६ पैसा छ।

सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरूबाट उत्पादन घट्न सुरु भएको छ। तर, जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ। शुक्रबार रातिबाट विद्युत् निर्यात बन्द हुनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा विद्युतको अधिकतम माग एक हजार सात सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताए।

 

२२ मंसिर २०८०, शुक्रबार १३:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस