|  

वैदेशिक ठगीका उजुरी बढे ७ महिनामा उपत्यकाबाट मात्रै ४२१ वटा उजुरी

७ फाल्गुन २०८०, सोमबार १३:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । धादिङकी मनकुमारी तामाङ कुवेत जान भन्दै गत असोजमा त्रिभुवन विमानस्थल पुगेकी थिइन्। गाउँकै आफन्तलाई ३ लाख बुझाएकी उनी कुवेत उड्न भने पाइनन्। दुबईको भिजिट भिसा हातमा लिएर विमानस्थल पुगेकी उनलाई कागजात शंकास्पद भन्दै अध्यागमन अधिकृतले फिर्ता पठाए। रिण तिर्नका लागि मजदुरी गरिरहेकी तामाङ ५ महिनापछि मात्रै पासपोर्ट फिर्ता लिन प्रहरी कार्यालय पुगेकी थिइन्।

यस्तै, सर्लाहीका वीरेन्द्र महतो न्युजिल्यान्ड जानका लागि गत मंसिरमा घरबाट हिँडेका थिए। उनलाई एजेन्टले वर्किङ भिसामा पठाउने भन्दै पटक–पटक महतोसँग १८ लाख बुझे। प्ल टु पास गरेका महतोले न्युजिल्यान्ड नपुगीबीच ट्रान्जिटबाटै फर्काइए। उजुरी बोकेर अपराध अनुसन्धान महाशाखा पुगेका उनी प्रहरीसँग आफू ठगिएको बताउँदै थिए।

यी त केही घटना मात्रै हुन्। पछिल्लो समय वैदेशिक रोजगारीमा जाने भन्दै ठगी हुने गरेका घटना बढ्दो छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांकअनुसार पछिल्लो ७ महिनामा मात्रै वैदेशिक रोजगार ठगीका ४२१ वटा उजुरी परेका छन्। अपराध अनुसन्धान कार्यालयमा वैदेशिक रोजगार ठगी भन्दै वैदेशिक रोजगार विभागबाट ४ सय २१ वटा प्रक्राउ पुर्जी प्राप्त भएको थियो। विदेश पठाउने भन्दै पैसा उठाएर ठगी गर्ने १ सय ९८ जना पक्राउ परेका छन्। जसमा १६१ जना पुरुष र ३७ जना महिला छन्।

वैदेशिक रोजगारमा ठगी गर्नेहरूविरुद्ध १३ करोड ५ लाख ८७ हजार ३ सय बिगो बराबरको मुद्दा दर्ता भएको छ। आव ७८÷७९ मा १२० वटा उजुरीमा १२० वटै पक्राउ पुर्जी जारी भएको थियो। जसमा ५ जना मात्रै पक्राउ परेका थिए। यस्तै, आव ७९÷८० मा ८६ वटा वैदेशिक ठगीका उजुरी परे। जसमा २८ जनामात्रै पक्राउ परेका थिए। गत वर्ष ८६ वटा मात्रै पक्राउ पुर्जी जारी भएकोमा यस वर्षको सुरुको ७ महिनामै यो संख्या पाँच गुणा बढेको छ। यही पुसमा ९४ वटा उजुरी आएकोमा माघ महिनामा ८४ वटा उजुरी आएका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार छोटो समयमा धेरै पैसा कमाउने रहरले वैदेशिक ठगी बढिरहेको छ। सबैलाई विदेश जानु छ, पैसा कमाउनु छ, छिटो धनी हुनु छ। पछिल्लो समय पोर्चुगल, पोल्यान्ड, सर्विया, क्यानडा, माल्दिभ्स, न्युजिल्यान्ड, अष्टे«लिया, जापान, क्रोएसिया, कम्बोडिया, टर्की, अल्बानिया, रसियाजस्ता देशमा लैजाने भन्दै ठगी गर्ने गिरोह नै सक्रिय छन्। यस्ता गिरोहहरू एक ठाउँमा ठगी गर्ने र फरार हुने, लगत्तै अर्को ठाउँमा कार्यालय खोलेर ठगी गर्ने जस्ता कार्य गरिरहेका छन्।

७ फाल्गुन २०८०, सोमबार १३:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस