|  

राजविराजका तत्कालीन आयोजना प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२२ फाल्गुन २०८०, मंगलवार १५:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सीडीई सचिन्द्र कुमार देवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ४ मधुवापुर अन्तर्गत शहरी विकास, राजविराजद्वारा मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग ३०० मिटर दुरीमा कालोपत्रे बाटो निर्माण गर्ने क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सि।डि।ई। सचिन्द्र कुमार देवसहित, तत्कालीन इन्जिनियर मदन राय, सबइन्जिनियर सरोज कुमार यादव र निर्माण व्यवसायी गुन्जा कन्सट्रक्सनका प्रोप्राइटर गोविन्द प्रसाद मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारका अनुसार सि।डि।ई। देव, तत्कालीन इन्जिनियर राय र सबइन्जिनियर यादवले अनियमित तरिकारले निर्माण व्यवसायी मण्डललाई ३ लाख ४७ हजार रुपैयाँ भुक्तानी दिएका थिए ।

उनीहरुविरुद्ध ३ लाख ४७ हजार रुपैयाँ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।

२२ फाल्गुन २०८०, मंगलवार १५:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस