|  

मुग्लिन- पोखरा सडकको पश्चिम खण्डमा सडक बिस्तारका क्रममा ७० मठमन्दिर भत्किने

७ चैत्र २०८०, बुधबार १३:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । तनहुँ -मुग्लिन पोखरा सडक बिस्तार आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा करिब ७० वटा मठमन्दिर भत्किने भएका छन् । राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरु भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै बाह्र मन्दिर र दुई पार्क भत्किने छन् ।

प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा गठित मुआब्जा निर्धारण समितिको हालै बसेको बैठकले मन्दिरको क्षतिपूर्तिका लागि मुआब्जा निर्धारण गरिसकेको छ । तनहुँ खण्डका लागि मात्रै रु ३४ लाख मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ भने कोत्रेदेखि कास्कीको सेतीपुलसम्मको लगत लिने काम भैरहेको रेना आरडिइटी–एस कन्सल्टटेन्सीका परामर्शदाता कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिरको मुआब्जाका लागि मूल्याङ्कन भैसकेकाले सम्बन्धित समुहले वडाको सिफारिस, समुहको माइन्युटर र निवेदनलगायतका आवश्यक कागजपत्र आयोजना समक्ष पेश गर्नुपर्ने छ ।

पश्चिम सडकखण्ड अन्र्तगत दुई लेनको छ किलोमिटर दूरीमा अस्पाल्ट प्रविधिको कालोपत्र सम्पन्न भएको छ । “तनहुँ र कास्की खण्डमा गरी उक्त दुरीमा कालोपत्र गरिएको हो”, उहाँले भन्नुभयो, “पछिल्लो समय निर्माण कम्पनीले निर्माणको गति बढाएपछि अहिले भौतिक प्रगति १८ प्रतिशत पुगेको छ ।”
उक्त सडकखण्ड अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दुरीमा पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ ।

आयोजनाले निर्माण कम्पनीलाई लक्ष्यअनुरुप कामको गति बढाउन निर्देशन दिएपछि निर्माणले गति लिएको मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्ड का इञ्जिनियर नारायण पौड्यालले बताउनुभयो ।

 

७ चैत्र २०८०, बुधबार १३:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस