|  

उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता गर्ने

२४ चैत्र २०८०, शनिबार ०७:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र २४, काठमाडौँ । उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका रहेको छ ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । इलाम–२ र बझाङ प्रदेश १ मा आयोगले उपनिर्वाचन हुँदै छ । वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

यस्तै, आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ । यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।

निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।

२४ चैत्र २०८०, शनिबार ०७:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस