|  

रेडक्रस गजुरी उप शाखाको वार्षिक साधारण : गजुरीबासिले नि:शुल्क रगत पाउने अध्यक्ष श्रेष्ठको उद्घोष

२४ चैत्र २०८०, शनिबार १७:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । नेपाल रेडक्रस सोसाइटी गजुरी उप शाखाको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार गजुरीमा एक भव्य समारोहको आयोजना गरि गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

बिषेशगरि राजमार्ग क्षेत्रमा हुने दुर्घटना तथा बिपद्हरुमा रेडक्रस सोसाईटीले काम गरिरहेको र आगामी दिनहरुमापनि यस्ता बिपद्मा रेडक्रसकर्मीले सहयोग गर्ने रेडक्रस धादिङका सभापति दुर्लभ तामाङले बताउनुभयो ।

उहाँले रेडक्रसका ७ सिद्धान्तमा रही धादिङ जिल्लाभित्र विभिन्न विपत्तिहरूमा सरकारको सहयोगी हातको रूपमा काम गरिरहेको बताउनुभयो ।

२०६० सालदेखि गजुरीमा रेडक्रसले काम गर्दै  अहिलेसम्म बिबिध कामहरु भईरहेको गजुरी रेडक्रस उपशाखाका सभापति ज्वारिलाल पाठकले बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले भुकम्प, कोरोना भाइरस, डेंगी, सडक दुर्घटना, बाढीपहिरो, आगलागी, हुरी बतास, हिमपातका साथै नियमित रक्तदान, विकास निर्माण कार्यहरूमा समेत सहयोग गर्दै आएको छ ।

वार्षिक साधारणसभाले वर्षभरिका सेवाहरूको समिक्षा र प्राप्त गरेका उपलब्धिहरूको समिक्षा गर्दै भावि कार्यदिशा समेत तय गरेको छ । उक्त कार्यक्रममा विभिन्न जिल्लाका रेडक्रस प्रमुख तथा प्रतिनिधी,पत्रकार,राजनैतिक दलका प्रतिनिधी,संघसंस्थाका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

प्रमुख अतिथीका रुपमा रहनुभएका गजुरी गाउापालिका अध्यक्ष गणेशलाल श्रेष्ठले गजुरी गाउँपालिकाले रेडक्रसलाई हरेक प्रहरमा सहयोग गरिरहेको बताउनुभयो । बार्षिक रुपमा ७ लाख स्वास्थ्य क्षेत्र तथा रेडक्रसको लागी छुट्टाईएकोले गजुरीका नागरिकहरुले रगत चाहिएमा शुल्क नलाग्ने बताउनुभयो ।

केहिदिन अगाडी गजुरीमा सञ्चालन भएको रक्तदान कार्यक्रममा ३० हजार नगद सहयोग गरिएको र हरेक बिपद् तथा सामाजिक कामहरुमा गजुरी गाउापालिका सँगै रहेको कुरामा जोड दिनुभयो ।

गजुरी गाउँपालिकाले हातेमालो गर्दै अगाडी बढ्ने बताउनुभयो । रेडक्रसको लागी चाहिने सामाग्री, जग्गा तथा भवनको लागी पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पृथ्वी राजमार्ग क्षेत्रमा हुने घटनामा रेडक्रसमा आवद्ध साथिहरु पुग्ने र सहयोग गर्ने गरेको बताउदै रेडक्रस भन्ने संस्था सबैको साझा रहेको कुरामा समेत उहाँले जोडदिनुभयो ।

विशिष्ट अतिथि गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुरालले रेडक्रस पबित्र संस्था हो।राजनीति हस्तक्षेप गर्न नहुने बताउदै रेडक्रसमा आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने बताउनुभयो।

बिषेश अतिथीका रुपमा रहेका गजुरी वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारीले रेडक्रस संस्थाको लागी वडाले गर्नुपर्ने काम सबैमा पहलकदमी गरिने बताउनुभयो । राजमार्ग देखि अन्य स्थानमा भएका बिपद्मा रेडक्रसकर्मीहरुले देखाएको सक्रियता निकै सराहनिय रहेको बताउनुभयो । अहिले रक्तदानदेखि अन्य सामाजिक कामहरु गर्दै आईरहेको प्रति खुसि ब्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्ता कदमहरुलाई निरन्तरता दिनु सुझाव दिनुभयो ।

२४ चैत्र २०८०, शनिबार १७:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस