|  

३४ प्रतिशत मानिसले गर्छन् नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग

२५ चैत्र २०८०, आईतवार ११:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपालमा ३४ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणअनुसार कुल पुरुषमध्ये ५७ प्रतिशत र कुल महिलाको ११ प्रतिशत गरी समग्रमा ३४ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको हो ।

सबैभन्दा धेरै कर्णाली प्रदेशमा ४७ दशमलव ८ प्रतिशत मानिसले कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेका छन् भने सबैभन्दा कम वाग्मती प्रदेशमा २४ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका देखिएको छ । सुर्तीजन्य पदार्थ प्रयोग गर्ने ३४ प्रतिशतमध्ये सबैभन्दा धेरै ५५ देखि ६९ वर्ष उमेर समूहका मानिस धेरै छन् । युवा वर्गमा हुक्का र ई–सिगरेटको प्रयोग बढ्दै गएको सर्वेक्षणले देखाएको छ ।

अध्ययनले सुर्तीजन्य पदार्थको प्रयोगको असरबाट नेपालमा हरेक वर्ष ३७ हजार ५२९ जनाको ज्यान जाने गरेको देखाएको छ । सर्वेक्षण सन् २०२४ को शुरुवातमा सबै प्रदेशका १८ ठाउँ छनौट गरी गरिएको थियो । सर्वेक्षण प्रतिवेदनमा सुर्तीजन्य बस्तुकोे नियन्त्रणका निम्ति कर र खरिद मूल्य बढाउनुपर्ने सुझाव छ ।

अहिले नेपालमा सुर्तीजन्य बस्तुको खुद्रा मूल्यमा ४१ प्रतिशत कर लगाइएको छ । यो दक्षिण एसियाली देशमध्ये सबैभन्दा कम रहेको प्रतिष्ठानले जनाएको छ । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड तोकेको छ ।

 

२५ चैत्र २०८०, आईतवार ११:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस