|  

आगामी बजेटको खास प्राथमिकता पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि रहने छ : अर्थमन्त्री पुन

२७ चैत्र २०८०, मंगलवार १५:१३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटको खास प्राथमिकता पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि रहने बताएका छन् ।

नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक एडिबी का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग मङ्गलवार मन्त्रालयमा भेटवार्ता गर्दै मन्त्री पुनले सो कुरा बताएका हुन् । मन्त्री पुनले आर्थिक रूपमा शिथिलता भए पनि सुधारको प्रयास गरिरहेको उनको भनाइ थियो । गत वर्षभन्दा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपणहरू भइरहेको भन्दै उनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गरे । आगामी आर्थिक वर्षमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गरे । उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको उनले बताए ।

मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा सञ्चालित विकास आयोजनामा खर्चको प्रगति कम रहेको उनको भनाइ थियो । आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आफूले आयोजना सम्बद्ध मन्त्रालयहरूसँग निरन्तर संवाद र परामर्श गरिरहेको मन्त्री पुनले बताए । नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वाधारमा उल्लेख्य विकास गरेको मन्त्री पुनको भनाइ छ ।

 

२७ चैत्र २०८०, मंगलवार १५:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस