|  

मिथिलाञ्चलमा आज सतुवाइन पर्व, भोलि जुडशीतल

१ बैशाख २०८१, शनिबार १२:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १, काठमाण्डौँ । नयाँ वर्ष हर्षोल्लासका साथ मनाइरहँदा मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज सतुवाइन पर्व मनाइँदै छ ।

कुलदेवतालाई सतुवा चढाएर सतुवाइन मनाइन्छ । देउतालाई प्रसादको रुपमा सातु चढाउने र त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गरिन्छ। चना, गहुँ, मकै र जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ । प्रायले देउतालाई चढाउने सातु जौको हुने गर्दछ ।

त्यस्तै सतुवाइन पर्वको भोलिपल्ट मधेसमा जुडशीतल पर्व मनाउने चलन छ । जुडशीतल पर्वमा घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् ।

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् । यो पर्वमा चना बदामको सातु, दाल, मनुंगा को तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर करी पकाइ खाने परम्परा छ ।

१ बैशाख २०८१, शनिबार १२:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस