|  

किन्ताङफेदीमा सडक खनेको चार दशकपछि बेलीब्रिज निर्माण

१७ बैशाख २०८१, सोमबार १२:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा सडक खनेको चार दशकपछि पुल बेली ब्रिज निर्माण गरिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा सवारीसाधन ओहोर दोहोर गराउन थालिएको छ ।

उत्तरी धादिङको तीन गाउपालिकालाई प्रत्यक्ष लाभ पुर्‍याउने पुलको आइतबार संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले संयुक्तरुपमा उद्घाटन गरे । खनियाँबास–४ र नेत्रावती डबजोङ गाउँपालिका–१ जोड्ने किन्ताङखोलामा बनेको उक्त पुल ४२ दशमलव ६७ मिटर लामो र चार दशमलव दुई मिटर चौडा रहेको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा सो पुल निर्माण सम्पन्न भएको हो ।

वर्षाको समयमा पानी बढेपछि खोला तर्न नसक्दा उत्तरी धादिङका स्थानीयलाई सदरमुकामबाट दैनिक उपभोग्य सामान लैजानसमेत कठिनाइ थियो । बिरामी पर्दा हेलिकप्टरको सहारा लिनुपर्ने बाध्यता थियो । उनीहरू अब त्यो बाध्यताबाट मुक्त भएका छन् । उत्तरी धादिङलाई जोड्न अझै दुई पुल बनाउन आग्रह गरिएको सांसद अधिकारीले बताए ।

कूल र एक करोड १० लाख रुपैयाँको लागतमा सो पुल निर्माण गरिएको हो । पुल निर्माणकोे खर्च सुरुमा खनियाँबास गाउँपालिका र पछि नुवाकोटको किस्पाङ गाउँपालिका, गंगाजमुना गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गरेको खनियाँबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए । धादिङको उत्तरी भेगलाई सदरमुकाम धादिङबेँसी जोड्ने यो नै मुख्य मार्ग भएकाले पुल निर्माणले जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने उनको भनाइ छ ।

 

१७ बैशाख २०८१, सोमबार १२:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस