|  

मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

१७ बैशाख २०८१, सोमबार १३:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौँ दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन तथा दुई सय २० केभी मातातीर्थ सबस्टेसनको उद्घाटन गरिएको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ मा निर्माण गरिएको सबस्टेसन परिसरमा आयोेजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रसारण लाइन तथा सबस्टेसन उद्घाटन गरे । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि २२०र१३२ केभी, ३२० एमभिए क्षमताको मातातीर्थ सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो सबस्टेसन हब हो ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले जलविद्युत्को विकासमा गुणात्मक फड्को मारिरहेको तथ्याङ्कले नै पुष्टि गरिरहेको उल्लेख गर्दै देश विकासको युगतर्फ प्रवेश गरेकाले यसलाई सकारात्मक रुपमा लिएर अगाडि बढ्नुपर्ने बताए ।

नेपालमा लगानीका लागि सबैभन्दा उपयुक्त क्षेत्र जलविद्युत् नै भएको र यसको विकासका लागि सरकारले लिएको लगानीमैत्री नीतिका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको जनाउँदै प्रधानमन्त्री दाहालले आइतबारदेखि सुरु भएको लगानी सम्मेलनमा भएको विदेशी लगानीकर्ताहरुको सहभागिताले समेत यसलाई पुष्टि गरेको उल्लेख गरे । उनले आर्थिक वर्षबाट बङ्गलादेशलाई पनि ४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशका निकायहरुबीच त्रिपक्षीय सम्झौता छिट्टै हुन लागेको बताए ।

प्रसारण लाइनलगायत विकास आयोजनामा वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानमा देखिएको समस्या समाधान गरी आयोजनाहरु अगाडि बढाउन व्यावहारिक र विकास विरोधी नभए साधक बन्न सम्बन्धित निकायहरुलाई निर्देशन दिए ।

विद्युत् प्रणालीमा देखिएको यस्तो प्रकारको मौसमी असन्तुलन हटाउन सरकारले एक हजार दुई सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना, एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजना, छ सय ७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाइसकेको उनले जानकारी दिए ।

 

१७ बैशाख २०८१, सोमबार १३:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस