|  

भोजपुरमा १४ जना सवार बोलेरो भिरबाट खस्दा २ युवतीको मृत्यु, १२ जना घाइते

१८ बैशाख २०८१, मंगलवार ०६:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १८, काठमाण्डौँ । भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई युवीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सयमिटर तल खसेर दुर्घटनामा परेको हो ।

आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

‘दुर्घटनामा आमचोक गाउँपालिका–१० पाङ्चाकी २७ वर्षीया रूना राई र सुनसरीको धरान उपमहानगरपालिका ५ की २६ वर्षीया शान्ति राईको मृत्यु भएको छ,’ इन्सपेक्टर राईले नेपालखबरसँग भने, ‘बोलेरोमा सवार १४ जनामध्ये १२ जना घाइते भएका छन् ।’

उनले रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए । घाइते सबैलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उनले बताए ।

१८ बैशाख २०८१, मंगलवार ०६:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस