|  

धादिङको बेनिघाट रोराङमा बेरुजु शून्य, देशभरको पाँच नम्बरमा पर्न सफल !

१४ जेष्ठ २०८१, सोमबार १४:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । देशभरिका स्थानीय तहमध्ये  धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आर्थिक बर्ष २०७९/८० को बेरुजु शून्य देखिएको छ । महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको बेरुजु शून्य देखाएको हो ।
‘लगातार देशमा आर्थिक अनियमितता बढिरहँदा धादिङको बेनिघाट रोराङमा शुन्यमा आउनु सराहनीय देखियो,’ कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङले जनाएको छ । सबैको साथले गाउँपालिकालाई बेरुजु शून्य पालिका बनाउन सफल भएको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष विबेक थपलियाले प्रदेश हवलाई जानकारी दिनुभयो ।
बेरुजु शून्य हुँदा पालिकाको गरिमा बढेको छ । ‘लगातारको मिहिनेतले पालिकामा आर्थिक सुशासन कायम गर्न सफल भएका छौं,’ उहाँले भन्नुभयो, ‘उपलब्धि हासिल गर्नुभन्दा त्यसलाई निरन्तरता दिन कठिन छ । कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणको सहयोग र योगदानले शून्य बेरुजु सम्भव भएको हो ।’ सबैले आ–आफ्नो ठाउँबाट राम्रो काम गरेकै कारण गाउँपालिकालाई शून्य बेरुजु पालिका बनाउन सफल भएका हौँ । आर्थिक कारोबारका निम्ति गरिने सम्पूर्ण प्रक्रिया पूरा गरेकै कारण पालिकाको बेरुजु शून्य भएको प्रमुख प्रशासकीय अधिकृत नर्मदा घिमिरेले बताउनुभयो ।


धादिङको बेनिघाट रोराङ गाउँपालिका बेरुजुको शुन्यमा परेर देशभरका पाँच स्थानमा पर्न सफल भएको छ । धादिङको बेनिघाट रोराङमा बेरुजु शुन्य भईरहँदा धादिकै धुनिबेशी नगरपालिका धादिङमा सबैभन्दा धेरै बेरुजु हुने पालिका घोषित भएको छ ।

१४ जेष्ठ २०८१, सोमबार १४:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस