|  

राष्ट्रिय सभा अध्यक्षमा ३९ मत सहित नारायण दाहाल निर्वाचित

२९ फाल्गुन २०८०, मंगलवार १४:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रिय सभा अध्यक्षमा ३९ मत सहित नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । सभाको आज बसेको बैठकले दाहाल बहुमतले निर्वाचित भएको घोषणा गरेको हो ।

दाहालले राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो । उहाँ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

सत्ता गठबन्धनबाट उम्मेदवारीको प्रस्ताव दर्ता गराएका दाहाललाई माओवादी केन्द्रका १७, एमालेका १०, एकीकृत समाजवादीका आठ र जसपाका तीन सदस्य गरी ३८ जनाले पक्षमा मत दिए । यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिनुभयो ।

दाहालका प्रतिस्पर्धी राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्मा पराजित हुनुभयो । शर्माको विपक्षमा बहुमत सदस्यले मत व्यक्त गरेपछि प्रस्ताव अस्वीकृत भएको हो । शर्मा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ ।

 

२९ फाल्गुन २०८०, मंगलवार १४:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस