|  

आयरल्यान्डसँगको दोस्रो टी २० क्रिकेटमा नेपाललाई फेरि २०० भन्दा बढी रनको लक्ष्य

१७ चैत्र २०८०, शनिबार १५:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नेपालले आयरल्यान्डसँगको दोस्रो टी २० क्रिकेटमा पनि २०० भन्दा बढी रनको लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार ब्याटिङको निम्तो पाएको आयरल्यान्ड वुल्भ्सले ६ विकेटको क्षतिमा २२४ रन बनाएको हो। आयरल्यान्डका लागि पेटर मूर र नेइल रकले विस्फोटक अर्धशतक बनाए।
मूरले २६ बलमा तीन चौका र सात छक्का प्रहार गर्दै ६५ रन जोडे। कप्तान रकले ३४ बलमा एक चौका र सात छक्काको मद्दतले ७१ रन बनाए। त्यस्तै, जेम्स म्याकुलमले २६, फिन ह्यान्डले १९, रोस अदइरले १७ र गेराथ डेलानीले १० रन बनाए।
नेपालका लागि सागर ढलाकले तीन, कमल ऐरी र पवन सर्राफले एक एक विकेट लिए। आयरल्यान्ड वुल्भ्स र नेपालको ‘ए’ टोलीबीच टी २० प्रतियोगिता चलिरहेको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्यान्डसँग २१ रनले पराजित भएको थियो।
आयरल्यान्डले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २०१ रन मात्रै बनाउन सकेको थियो। आज फेरि २२५ रनको लक्ष्य पाएको छ।

१७ चैत्र २०८०, शनिबार १५:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस