|  

जनताको अवस्था बदल्ने चुनौती छः मुख्यमन्त्री पौडेल

३ आश्विन २०७६, शुक्रबार १७:२२ प्रकाशित
प्रदेश हव न्युज डेक्स


हेटौंडा,३ असोजः
३ नम्बर प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेलले राज्य व्यवस्था बदलिएपनि जनताको अवस्था बदल्ने चुनौती रहेको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पस प्राङ्गणमा आयोजित भव्य सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले आर्थिक समृद्धि हासिल गरी नेपाली जनताको अवस्था वदल्नु सरकारको चुनौती रहेको बताएका हुन् । उनले “संविधान दिवसमा सबै नेपालीहरुमा संविधान प्रतिको आस्था र सम्मान अभिबृद्धि गर्न थप प्रेरणा मिलोस्”, भन्दै शुभकामना पनि व्यक्त गरे ।

संघीयताको नयाँ प्रयोग गरी विकासको प्रवाह अघि बढेको भन्दै मुख्यमन्त्री पौडेलले अधिकारको विकेन्द्रीकरण गरी जनस्तरमा सत्ताको अनुभूति पुर्याइएको दावी गरे । आफैप्रति फर्किन जरुरी रहेको भन्दै उनले समय अनुसार हाम्रा क्रियाकलाप र व्यवहारको रुपान्तरण पनि आवश्यक रहेको बताए ।

संविधान दिवसको शुभकामना वक्तव्यमा मुख्यमन्त्रि पौडेलले सबै नेपाली नागरिकको हक अधिकार स्थापित गरी पूर्ण प्रेस स्वतन्त्रतासहितको प्रजातान्त्रिक मुलुक बनाई समाजवादप्रति प्रतिबद्ध रही अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । लामो समयदेखि आफ्नै प्रतिनिधिले लेखेको संविधान पाउने नेपाली जनताको चाहना पूरा भएको दिनको रुपमा स्मरण गर्दै मुख्यमन्त्रि पौडेलले शहीद तथा वेपत्ता परिवार र नेपाली जनताको वलिदानीको सम्मान गर्नु सरकारको कर्तव्य भएको बताए । नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको मुख्यमन्त्रि पौडेलको दावी थियो । प्रदेश सरकारले आर्थिक समानता, समृद्धि हासिल गर्दै समतामूलक समाज निर्माण गर्ने संकल्प लिएको पनि मुख्यमन्त्रि पौडेलले बताए ।

असोज ३ मा नेपालको संविधान २०७२ जारी भएको दिनको सम्झनामा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाईरहँदा ३ नम्बर प्रदेश सरकारले चौथो संविधान दिवस मनाएको । संविधान जारी भएको चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश भएको अवसरमा प्रदेश सरकारले हेटौंडामा विभिन्न जातीय पहिचान झल्काउने झाँकी सहितको र्याली तथा सभाको आयोजना गरेको थियो । र्याली तथा सभामा विभिन्न संघ, संस्थाका प्रतिनिधि, विद्यार्थी, शिक्षक, राष्ट्रसेवक कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सहभागी थिए । हेटौंडा–४ मा रहेको भुटनदेवी स्कुलको प्राङ्गणबाट सुरु भएको र्याली स्कुलरोड, बुद्धचोक, नगरपालिका रोड हुँदै मकवानपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा पुगेर सभामा परिणत भएको हो ।

संविधान दिवस समारोह आयोजक मूल समितिका अध्यक्ष तथा मुख्यमन्त्रि पौडेलको सभाधयक्षतामा सञ्चालन भएको सभामा ३ नम्ब। प्रदेश प्रमुख अनुराधा कोइरालाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, संघीय मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, समाजिक विकासमन्त्री युवराज दुलाल, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ लगायत मन्त्री तथा सांसदहरुको उपस्थिति रहेको थियो ।

इतिहासमै पहिलो पटक जनताको प्रतिनिधि सहभागी रहेको संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले (नेपालको संविधान २०७२)लाई हस्ताक्षर गरी अनुमोदन गरेका थिए । नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधान लागू भएका छन् ।

३ आश्विन २०७६, शुक्रबार १७:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस