|  

विद्यालय नर्स कार्यक्रम : विद्यार्थीले घरमा भन्दा विद्यालयमा सुरक्षित भएको महसुस गर्न थाले

१० असार २०८०, आईतवार १४:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


शर्मिला तामाङ/गजुरी

विद्यालय नर्स कार्यक्रमले स्वास्थ्य शिक्षामा मात्र होईन विद्यार्थीहरुलाई घरमा भन्दा विद्यालयमा सुरक्षित भएको महशुस गर्न थालेका छन् । सामान्य संक्रमण हुँदा विद्यालय छाडी स्थानिय मेडिकल तथा स्वास्थ्य संस्थामा जाने गरेका विद्यार्थीहरु अहिले विद्यालयमानै नर्सले सेवा दिन थाले पछि दंग परेका छन् । धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं. ५ मा रहेको डोलभञ्ज्याङ माध्यमिक विद्यालयमा करिव ३ वर्ष देखि विद्यालय नर्स कार्यक्रम लागु भए सँगै विद्यार्थीहरु आकर्षित भएका हुन् । प्रदेश सरकारले सामुदायीक विद्यालयमा नर्स सेवा सुरु गरे सँगै विद्यालय समयमा विद्यार्थीमा हुने विभिन्न संक्रमण र रोगको उपचार विद्यालयमा नै हुने गरेको डोलभञ्ज्याङ मा.वि.का प्रधानाध्यापक असोक घिमिरेले बताउनु भयो ।
यसो त विद्यार्थीहरुमा पनि स्वास्थ्य शिक्षा सँगै विद्यालयमानै उपचार पाउने भए पछि नियमित विद्यालय जाने गरेको बताएका छन् । सोहि विद्यालयको कक्षा ९ मा अध्ययनरत उर्मिला तामाङ मनिनावारी भएको अवस्थालाई सम्झँदै भन्छिन ‘ ‘प्याड के हो’ थाहा थिएन । मिसले पनि भन्नुभएन । विद्यालयमै प्याड र दुखाई कम गर्ने औषधी पाएको भए सायद मैले त्यत्ति पीडा सहनु पर्दैन थियो होला’, प्रशंसाको त्यतिबेलाको पीडा अहिले पनि अनुहारमा पनि छर्लङ्गै देखिन्छ । तर, त्यतिबेला भोगेको जस्तो पीडा अहिले भोग्नु परेको छैन ।’
बागमती प्रदेश सरकारले ल्याएको एक विद्यालय एक नर्स कार्यक्रम विद्यालयमा सुरुभएसँगै महिनावारी भएको बेला होस् या अन्यकुनै समस्या हँुदा विद्यालयमै पाउने उपचारले सबै विद्यार्थी मात्र होईन अभिभावक समेत खुसी छन् । विद्यालय आएको बेला महिनावारी भयो भने कक्षा छोडेर घर फर्किनुपर्ने बाध्यताको अन्त्य भएको छ । भने समान्य स्वास्थ्य समस्या पर्दा विद्यालय छोड्नु पर्ने बाध्यता हटेको छ ।
यस्तै जिल्लाका विभिन्न विद्यालयहरुमा विद्यालय नर्स कार्यक्रम चलिरहेको छ । गजुरी गाउँपालिकाको आदर्श माध्यमिक विद्यालयमा औषधी उपचार गर्ने छुट्टै कोठा छ । एकजना नर्स छ । महिनावारी हुँदा लगाउने प्याड विद्यालयले फ्रि मै उपलब्ध गराउँछ । ‘विद्यालयमा नर्स नहुँदा कति पटक पढाई छोडेर विद्यार्थी घर आउने गरेको अभिभावक प्रकास खरेल बताउँछन् । अहिले भने त्यो समस्या छैन’। त्यसैले अहिले हामी ढुक्क छौं ।
सामान्य रुघाखोकी लाग्दा समेत कक्षा छोडेर अस्पताल वा घर जानुपर्ने समस्या हटेको छ । अतिरिक्त क्रियाकलाप गर्दा कहिलेकाँही चोट लाग्छ, टाउको दुख्छ, मौसमी रुघाखोकी लाग्छ त्यतिबेला घरमा बरु औषधी हुँदैन, विद्यालयमै आएर औषधी खाने गरेका छौं’, सोहि विद्यालयको कक्षा ७ मा अध्ययनरत मुकेश विश्वकर्मा आफ्नो भोगाई सुनाउँछन् । ‘घर भन्दा अहिले त हामीलाई विद्यालय नै सुरक्षित लाग्न थालेको छ ।’
आर्थिक वर्ष २०७५÷०७६ देखि बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सुरु गरेको विद्यालय नर्स कार्यक्रम धादिङका ४९ वटा विद्यालयमा संचालन भईरहेको छ । हालसम्म एक विद्यालय एक नर्स कार्यक्रम बागमती प्रदेशका ५ सय १९ विद्यालयमा सञ्चालन भइरहेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रवीन भुसालले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सूर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान पनि गर्दै आएकी छन् । समय समयमा बालबालिकाको स्वास्थ्य जाँच, रक्तचाप जाँच, स्वास्थ्य शिक्षालगायत कार्यका लागि विद्यालय नर्स प्रभावकारी बनेको छ ।
आगामी आ.व.मा धादिङका १३ वटै स्थानीय तहमा रहेका सामुदायिक विद्यालयमा नर्स कार्यक्रम थप हुने छ । शिक्षा विकास तथा समन्वय एकाइ धादिङका निमित एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठले बताए । “विद्यालयका विद्यार्थीमा देखापरेका स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न नर्स विद्यालय कार्यक्रमको भूमिका निकै महत्त्वपूर्ण छ”, उनले भने ।

१० असार २०८०, आईतवार १४:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस