|  

पोखराको लामेआहालमा फोहोर फाल्न अवरोध, दुर्गन्धित बन्दै पर्यटकीय शहर

२० श्रावण २०८०, शनिबार ०९:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनको लागि प्रयोग गर्दै आइरहेको वडा नं.३२ लामेआहालमा रहेको अस्थायी ‘ल्याण्डफिल्ड साइट’मा स्थानीयले अवरोध गरेका छन्।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइट पुरेपछि अस्थायी रूपमा लामेआहालस्थित सेती नदी किनारमा बजारको फोहोर व्यवस्थापन हुँदै आएको छ। तर फोहोर ओसार्ने गाडीहरूले बाटोमै खसाल्न थालेपछि दुर्गन्ध बढेको भन्दै स्थानीयले गत साउन १० गतेदेखि लामेआहालमा विसर्जन गर्न दिएका छैनन्।

फोहोर व्यवस्थापनका लागि पूर्वाधार नबनाएको, सडकमा जथाभावी फोहोर फालेको र प्रभावित क्षेत्रका बासिन्दासँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहोर लैजान अवरोध गरेका हुन्। फोहोरले दुर्गन्ध बढाएपछि स्थानीयले पटक–पटक विरोध गर्दै आइरहेका थिए भने उनीहरूले यो पटक फोहोर फाल्ने कार्य रोक्न अदालतसम्म पुगेका छन्।

एकै दिनमा करिब २०० टन हाराहारी फोहर निस्कने गरेको पोखरामा नौ दिनसम्म फोहोर उठ्न नसक्दा बजार क्षेत्रका सडक छेउछाउ, झाडी, कुना लगायतका स्थानहरूमा प्लास्टिकमा राखिएका तथा खुल्ला रूपमा नै फ्याँकिएको फोहोरले पोखरालाई कुरूप र दुर्गन्धित बनाएको छ। बजारवासीले लुकीछिपी सडक, नाली तथा पेटीमा फालेका फोहोरले वर्षा भएको वेलामा बजारलाई झनै कुरूप बनाएको छ। बजारका चोक चोक तथा पेटीमा राखिएका कुहिने तथा नकुहिने फोहोर अत्यधिक वर्षासँगै आएको बाढीले बगाएर सधैँ सफा रहने पर्यटकीय चोकमा पुग्दा पोखरा बजार नै कुरूप देखिएको छ।

लामेआहालका स्थानीय मेघराज पौडेलले सम्झौता अनुसारका काम नभएपछि अवरोध गरिएको हो। पोखरा महानगरपालिकासँग फोहोर व्यवस्थापनबारे १६ बुँदे सम्झौता भए पनि महानगरपालिकाले फोहोर फाल्नेबाहेक अन्य कुनै पनि बुँदा कार्यान्वयन नगरेकाले आफूहरू बाध्य भएर अवरोधमा उत्रिएको उनको भनाइ छ। ‘फोहोरको उचित व्यवस्थापन नहुँदा टाढा टाढासम्म दुर्गन्ध फैलिएको छ। यसले स्थानीयको स्वास्थ्यमा असर गरेको छ’ उनले भने, ‘समस्या समाधानका लागि जिल्ला अदालतमा रिट दर्ता गरेका छौँ। सेती नदीमा रसायनसहितको पानी बगिरहेको छ। मानवीय संवेदनाप्रति कसैको ध्यान छैन।’ गत साउन ४ गते महानगरपालिकालाई त्यसको व्यवस्थापनका लागि समय सीमा दिइएकोमा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तीन दिन भित्रमा काम सम्पन्न नभए बन्द गर्न सुझाएको स्थानीयको दाबी छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि अस्थायी रूपमै भए पनि छ महिनाका लागि लामेआहालमा फोहोर व्यवस्थापन गर्ने र त्यो अवधिभित्र महानगरपालिकाले स्थायी ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने भनिएको थियो।

नगरप्रमुख आचार्यले भने स्थानीय युवाको विरोधका कारण महानगरको फोहोर उठ्न नसकेको बताएका छन्। उनले अदालतमा निवेदन परेको र अदालतले निवेदन अनुसार आदेश नगरी साउन २१ गते दुवै पक्षलाई छलफलमा डाकेको बताए। स्वास्थ्यमा प्रतिकूल असर परेकोले महानगरपालिकामाथि लामेआहालमा फोहोर विसर्जन नगर्ने आदेश होस् भन्ने आदेश अदालतबाट हुनुपर्ने स्थानीयले माग गरेको भए पनि अदालतले त्यो आदेश गरेको छैन। तर समस्या समाधानका लागि अदालतले छलफलका लागि बोलाएको त्यो अगाडि नै स्थानीय र महानगरपालिका प्रतिनिधि बसेर समस्या समाधानको पहल गरिरहेको उनको भनाइ छ।

बजारको फोहोर उठ्न नसक्दा पर्यटकीय आकर्षणको केन्द्र पोखराका सडक पेटी र गल्लीहरू फोहोरले भरिँदै गएका छन्। बजारका मुख्य क्षेत्र तथा चोकहरूमा पनि स्थानीयले रातीको समयमा प्लास्टिकमा पोको पारेर फोहोर फालिदिँदा बजार क्षेत्र दुर्गन्धित बन्दै गएको छ। पोखराका मुख्य बजार क्षेत्र चिप्लेढुंगा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार र सिर्जनाचोक लगायतका क्षेत्रको सडकमै फोहोर थुप्रिएको छ।

वडा नम्बर ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले स्थानीयका माग पूरा गरी सहजरूपमा फोहोर लैजान छलफल भइरहेको बताएका छन्। ल्याण्डफिल साइटको सही ढङ्गले व्यवस्थापन नहुँदा वरपर दुर्गन्ध फैलिएको र फोहोर बोक्ने गाडीका कारण बाटो हिलो तथा जीर्ण भएकाले मर्मत गर्नुपर्ने माग स्थानीय गर्दै आएको बताउँदै वडाध्यक्ष कार्कीले उनीहरूको माग सम्बोधनको लागि आफूहरूले प्रतिबद्धता जनाएको बताए। समस्या समाधानका लागि महानगर प्रमुख आचार्यले स्थानीय र सरोकारवालाहरूलाई छलफलमा बोलाएकाले अब फोहोरको समस्या समाधान हुने अपेक्षा गरिएको उनको भनाइ छ।

फोहोर व्यवस्थापनको लागि महानगरले यसअघि पोखरा १६ र २० को बिचमा पर्ने पस्मराङमा ल्याण्डफिल साइट बनाउने भनेको थियो। स्थानीयले विरोध गरे पनि उक्त स्थानमा ल्याण्डफिल्ड साइट बन्न सकेन। नगरप्रमुख आचार्यको आफ्नै वडा अर्थात् ३३ को टिमुरपाटामा ल्याण्डफिल साइट निर्माणका लागि अघिल्लो वर्ष नै १० करोड विनियोजन गरिँदा त्यहाँ पनि स्थानीयको नै विरोध आयो।

अहिले पोखरा– ३३ कै पुँडीटारमा ल्याण्डफिल साइट बनाउने योजना अघि बढेको भए पनि काम भने अघि बढ्न सकेको छैन। पूँडीटारमा आठ सय ५० रोपनी क्षेत्रफल जमिनमा फोहोर व्यवस्थापनका लागि स्थायी संरचना बनाउने तयारी गरिरहेको महानगरपालिकाले बताएको छ।

२० श्रावण २०८०, शनिबार ०९:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस