|  

चितवनमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकै विद्यालयका शिक्षक र लेखापालको मृत्यु

२४ मंसिर २०८०, आईतवार ११:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते छन्।

तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुन् । बेलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतक अधिकारी माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ निवासी हुन् । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए । ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।

२४ मंसिर २०८०, आईतवार ११:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस