|  

मुख्यमन्त्री जम्कट्टेलको बागमतीमा एक वर्ष, यस्ता छन् सुधार र उपलब्धि

२५ पुष २०८०, बुधबार २१:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले एक वर्षको अवधिमा संघीयता कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । कर्मचारी प्रशासन तथा सेवा प्रवाह र विकास निर्माणमा एक वर्षे कार्यकाल उत्कृष्ट रहेको उनको दाबी छ ।
प्रदेश सरकारको एक वर्षे कार्यकालमा अन्तरतह समन्वय तथा सहकार्यको काम परिणाममुखी भएको मुख्यमन्त्री जम्कट्टेलले बताए । सो अवधिमा हेटौंडामा अन्तर प्रदेश मुख्यमन्त्री बैठक गरी ९ बुँदे निर्णयको पत्र प्रधानमन्त्री र गृहमन्त्री समक्ष पेस गरिएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तहलाई कुल ४ अर्ब ६३ करोड रुपैयाँ वित्तीय हस्तान्तरण निकासा गरिएकोमा चालु आर्थिक वर्षको मङ्सिरसम्ममा २ अर्ब ९१ करोड रुपैयाँ निकासा गरिएको मुख्यमन्त्री जम्कट्टेलले जनाएका छन् ।
सवारी साधन कर बाँडफाँटतर्फ चालु आर्थिक वर्षको मङ्सिरसम्म स्थानीय तहलाई १ अर्ब ८९ करोड रुपैयाँ हस्तान्तरण, भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सशर्त अनुदान निकासा, नमूना वडा समाजवादी कार्यक्रमको कार्यविधि स्वीकृत गर्दै छनौट भएका वडामा १ करोड रुपैयाँसम्म अनुदान पाउने व्यवस्था मिलाइएको पनि उनले उल्लेख गरेका छन् ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको मङ्सिरसम्म चालुतर्फ ५ अर्ब १५ करोड रुपैयाँ, पुँजीगततर्फ २ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेको पनि मुख्यमन्त्री कार्यालयले जारी गरेको एक वर्षे उपलब्धिमा उल्लेख छ । चालु आर्थिक वर्षको मङ्सिरसम्म बाँडफाँटबाट प्राप्त हुने ६ अर्ब ६० करोड रुपैयाँ, संघीय सरकारबाट प्राप्त अनुदानतर्फ ७ अर्ब ५६ करोड रुपैयाँ, प्रदेशको आफ्नो स्रोतबाट १ अर्ब ३७ करोड रुपैयाँ तथा बेरुजु र नगद मौज्दात गरी ६५ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।
प्रदेश सरकारले ३० प्रतिशतसम्म खर्च कटौती गर्ने निर्णय गरेको तथा विभिन्न सहकारी संघ संस्थाहरुको कार्यालय प्रयोजनका लागि घर जग्गा रजिस्ट्रेसन शुल्क छुट दिने, बागमती सभ्यता शुल्क र नारायणी सभ्यता शुल्क खारेज गरिएको पनि सरकारको उपलब्धिका रुपमा चित्रण गरिएको छ ।
पूर्वाधार निर्माण
प्रदेश सरकारको एक वर्ष अवधिमा २७२ किलोमिटर पक्की सडक निर्माण गरिएको र १५९ किलोमिटर ग्रावेलस्तरको सडक निर्माण तथा स्तरोन्नति भएको जनाइएको छ । सो अवधिमा २६ वटा सडकपुल तथा ६ वटा झोलुङ्गे पुल निर्माण, ३६४ किलोमिटर सडकको नियमित तथा ३७० किलोमिटर सडकको आवधिक तथा पटके मर्मत सम्भार गरिएको मुख्यमन्त्री जम्कट्टेलको कार्य प्रगतिमा उल्लेख छ ।
प्रदेश सरकारको प्रशासनिक भवन निर्माणका लागि वातावरणीय अध्ययनको प्रक्रिया अघि बढाइएको तथा दक्षिण एसियाको पहिलो सुरुङ मार्ग ‘चुरियामाई सुरुङमार्ग’ मर्मतकार्य सम्पन्न गरिएको, २ वटा सरकारी, १७६ वटा सामुदायिक तथा अन्य भवन निर्माण, ६ वटा पार्क निर्माण, जनता आवास कार्यक्रमअन्तर्गत २५५ वटा व्यक्तिगत आवास निर्माण भएको पनि जनाइएको छ ।
सामाजिक विकासतर्फ
एक वर्षको अवधिमा सामुदायिक विद्यालयहरूको स्तरोन्नति तथा शैक्षिक गुणस्तरको सुधारका लागि ९३ वटा २ कोठे भवन निर्माण, १९ वटा सामुदायिक भवन निर्माण र १३ वटा सामुदायिक क्याम्पसको भौतिक सवलीकरण गरिएको जनाइएको छ । १२८ वटा विद्यालय घेराबार, ३३ वटा २ कोठे शौचालय निर्माण गरिएको पनि प्रदेश सरकारको एक वर्षे उपलब्धिमा उल्लेख गरिएको छ ।
सो अवधिमा २३६ वटा खेलमैदान निर्माण, दुधौली रङ्गशाला निर्माण, चितवनको गौतबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश सरकारले साझेदारी गर्नेगरी काम अघि बढाइएको पनि जनाइएको छ ।
प्रदेशभित्रका स्नातक तहमा अध्ययनका लागि ३७९ छात्रालाई ५ हजार रुपैयाँका दरले र स्नातकोत्तर तहमा अध्ययनरत ११ छात्रालाई ७ हजारका दरले शैक्षिक छात्रवृत्ति रकमको पहिलो किस्ता उपलब्ध गराइएको प्रदेश सरकारले जनाएको छ ।
५ वटा विद्यालयलाई आवासीय विद्यालयको रुपमा सञ्चालन गरी ६५८ विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराइएको, १३ जिल्लाका एक/एक वटा बालविकास केन्द्रको स्तरोन्नति गरिएको, २७ सामुदायिक विद्यालयलाई बस खरिदका गर्न अनुदान उपलब्ध गराइएको पनि मुख्यमन्त्री कार्यालयले जारी गरेको उपलब्धि विवरणमा उल्लेख छ ।
स्वास्थ्य सेवा
पछिल्लो एक वर्षमा १३ जिल्लाका प्रादेशिक अस्पतालहरुको क्षमता तथा गुणस्तर सुधारका लागि आवश्यक कर्मचारी दरवन्दीको व्यवस्था गरिएको बागमती सरकारले जनाएको छ । जस अनुसार भक्तपुर र हेटौंडा अस्पताललाई ३०० शय्या, सिन्धुली, त्रिशुली, बकूलहर रत्ननगर र धादिङ अस्पताललाई १०० शय्या, मेथिनकोट, चौतारा, रामेछाप र पशुपति चौलागाई स्मृति अस्पताललाई ५० शय्या, बज्रबाराही चापागाउँ, टोखा चण्डेश्वरी र रसुवा अस्पताललाई १५ शय्यामा स्तरोन्नतिको निर्णय गरिएको जनाइएको छ ।
१३ वटा प्रादेशिक अस्पतालहरुमा ८११ शय्याहरु निःशूल्करूपमा सेवा उपलब्ध गराउने, विपन्न असहाय, बेबारिसे बिरामीका लागि १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने, प्रदेशका सबै आयुर्वेद स्वास्थ्य केन्द्रबाट रिह्याविलिटेशन र फिजियो थेरापी सेवा निःशुल्क उपलब्ध गराइएको पनि मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बीपीएच, बीएससी नर्सिङ, बी फार्मेसी, बीएलएमटी र एनेस्थेसिया असिस्टेन्ट कोर्स सञ्चालन, स्वास्थ्य मन्त्रालय तथा मातहातका रहेको ४५ वटा निकायहरुका लागि १ हजार ६७० वटा स्थायी दरबन्दी स्वीकृत गरिएको र एक विद्यालय एक नर्स कार्यक्रम ५१९ वटा विद्यालयमा विस्तार गरिएको उल्लेख छ ।
कृषि विकास
एक वडा एक कृषि, पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि स्वीकृत गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको तथा विपद् प्रभावित ४१ जना किसानलाई १ करोड ५७ लाख ७५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराइएको प्रदेश सरकारले जनाएको छ ।
माटो व्यवस्थापन र दिगो कृषि उत्पादन कायम गर्न एक प्रदेश, निर्वाचन क्षेत्र, एक प्राङ्गारिक मल कारखाना स्थापना कार्यक्रम अघि बढाइएको र ८ जिल्लाका १० स्थानमा निर्माणाधीन शीत भण्डारहरुको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको पनि प्रदेश सरकारको उपलब्धिका रुपमा देखाइएको छ । रसुवाको शीत भण्डार सञ्चालनमा आएको, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापको शीत भण्डारको परीक्षण सम्पन्न भएको जनाइएको छ ।
उत्पादनमा आधारित प्रोत्साहन प्रणाली अन्तर्गत २१७ सहकारी संस्था र ५ निजी दुग्ध संकलन संस्थाका कृषकलाई प्रति लिटर ३.५ रुपैयाँका दरले २९ करोड ९९ लाख ९८ हजार रुपैयाँ रकम उपलब्ध गराइएको पनि प्रदेश सरकारले जनाएको छ ।
दैनिक ६० हजार लिटर दूधको पाउडर उत्पादन गर्ने गरी हेटौँडामा स्थापित दूध पाउडर प्लान्टको परीक्षण कार्य भइरहेको, चितवनमा आधुनिक भेटेरिनरी अस्पताल निर्माणाधीन र चितवनमा बायो सेफ्टी लेभल टु प्लस प्रयोगशाला स्थापनाका लागि भवन निर्माण कार्य सम्पन्न भएको प्रदेश सरकारले जनाएको छ ।
यस्तै, २५ स्थानमा ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’ निर्माण कार्य जारी रहेको जनाइएको छ । यस्तै बागमती प्रदेश भ्रमण वर्ष २०२४ औपचारिक घोषणा गरिएको, २३६ वटा सहकारी सम्बन्धी उजुरीमध्ये ३४ सहकारीलाई थप छानबिन र कारवाहीका लागि प्रहरी समक्ष पठाइएको जस्ता विषयलाई सरकारले उपलब्धिका रुपमा चित्रण गरेको छ । रातोपाटीडटकमबाट ।

२५ पुष २०८०, बुधबार २१:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस