|  

सामूहिक बलात्कारको अभियोगमा काभ्रेमा ४ जना पक्राउ

३ माघ २०८०, बुधबार ११:४९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । काभ्रेको पाँचखालमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर अनुधन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरको जंगलमा पाँच दिनअघि २७ पुसको राति स्थानीय १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको हो।

बलात्कारमा संलग्न भएको आरोपमा उदयपुरको ताप्ली गाउँपालिका ८ घर भइ हाल पाँचखाल नगरपालिका ७ मा डेरागरी बस्ने २८ वर्षीय धिरज हमाल, भोजपुरको षडानन्द गाउँपालिका ८ घर भइ पाँचखाल ७ बस्ने घनश्याम श्रेष्ठ, धनकुटाको महालक्ष्मी नगरपालिका ४ घर भई हाल पाँचखाल ७ बस्ने १९ वर्षीय अमर बिक र १७ वर्षीय एक किशोर छन्।

उनीहरुलाई जिल्ला अदालत काभ्रेबाट मंगलबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक धमेन्द्र अकौलियाले जानकारी दिए।

प्रहरीका अनुसार ती युवती साँझ साथीहरुसँगै ‘इभिनिङ वाक’मा घरबाहिर निस्केको बेला बलात्कारमा परेकी हुन्। साथीहरु घर फर्किए पनि उनी राति अबेलासम्म घर नफर्केपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए। सामूहिक बलात्कारबाट बिछिप्त बनेकी ती युवतीले आत्महत्या गर्ने तयारी गरिरहेको अवस्थामा फेला पारिएको जानकारी आफन्तले प्रहरीलाई गराएका छन्।

 

 

३ माघ २०८०, बुधबार ११:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस