|  

बागमतीमा समर्थन जुटाउन एमाले माओवादीको दौडधुप

५ चैत्र २०८०, सोमबार १३:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । बागमती प्रदेश सरकारमा समर्थन जुटाउन नयाँ गठबन्धनमा रहेका ठूला दल एमाले र माओवादी केन्द्र दौडधुपमा लागेका छन्। केन्द्रमा बदलिएको नयाँ सत्तासमीकरणअनुसार प्रदेशमा सजिलै सरकार बन्ने अवस्था नरहेपछि सत्ता घटकका प्रमुख दलहरू दौडधुपमा लागेका हुन्।

यसैबीच बागमती प्रदेशमा पूर्वमुख्यमन्त्री एवं एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल र माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता एवं मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाल मजदुर किसान पार्टीका बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंसँग छुट्टाछुट्टै भेटेका छन्।

दुवै नेताहरूले नेता गोसाईंलाई बागमती प्रदेश सरकारलाई समर्थन गर्न आग्रह गरेका छन्। बागमती प्रदेशमा नेमकिपाका तीन सांसद रहेका छन्। नयाँ गठबन्धनलाई नेमकिपाले मात्रै समर्थन गर्ने हो भने पनि सरकार बनाउन आवश्यक बहुमत पुग्ने अवस्था छ।

नेताद्वयले नेता गोसाईंलाई भक्तपुरस्थित उनकै निवासमा पुगेर भेट गरेका हुन्। उनीहरूले पछिल्लो बदलिएको राजनीतिक परिस्थितिबाट प्रदेशमा देखिएको असहजतालाई सबै दल मिलेर समाधान गर्नुपर्ने भएकाले नेपाकिपाको पनि सहयोग र समर्थन आवश्यक रहेको बताएका थिए।

 

५ चैत्र २०८०, सोमबार १३:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस