|  

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति पौडेल

१३ बैशाख २०८१, बिहीबार १२:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताउनुभएको छ । उहाँले प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना रहेको उल्लेख गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित काठमाडौँमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ को बिहीबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपाल सरकारको सहजीकरण र समन्वय अनि निजी क्षेत्रको लगानीबाट यो सम्भव रहेको पनि स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले सङ्घीयतासँगै नेपाल लोकतन्त्रको उच्च अभ्याससहित राजनीतिक स्थिरतातर्फ लम्किरहेको र यसले स्वदेशी तथा विदेशी लगानी आकर्षण बढ्दै जाने अवस्था सिर्जना हुँदैछ भन्दै सङ्घीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको स्पष्ट पार्नुभयो ।

“नेपालको आर्थिक समृद्धिका लागि नेपाल सरकारले मुख्य आधारको रुपमा ऊर्जा क्षेत्रलाई लिएर यसलाई विशेष प्राथमिकता दिँदै आएको छ, यसकै फलस्वरुप कुनै बेला ठूलो ऊर्जा सङ्कट भोगेको नेपालमा बढ्दो ऊर्जा उत्पादनले राष्ट्रको ऊर्जा सुरक्षालाई मजबूद बनाउँदै लगेको छ, नेपाल ऊर्जामा आयातित गर्ने राष्ट्रबाट निर्यात गर्ने राष्ट्रको रुपमा परिणत हुँदैछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

यसले विगतमा रहेको परनिर्भरताको अवस्थालाई अन्त्य गरेर बिजुली व्यापारमार्फत नेपालको आर्थिक क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरिरहेको भन्ने आफूलाई लागेको बताउँदै उहाँले नेपाल छिमेकी राष्ट्रहरूका क्षेत्रीय बजारहरूमा स्वच्छ र हरित ऊर्जा निर्यातमार्फत नवीकरणीय ऊर्जाको उपयोग अभिवृद्धिका लागि योगदान दिने सक्ने अवस्थामा पुग्नु सन्तोषको विषय भएको धारणा व्यक्त गर्नुभयो ।

 

१३ बैशाख २०८१, बिहीबार १२:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस