|  

दुर्घटना न्युनिकरणमा ट्राफिक प्रमुख श्रेष्ठको सक्रियता : गजुरीमा ‘राडार गन’ सहित चेकिङ सुरु

१९ बैशाख २०८१, बुधबार १२:४९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गजुरी ट्राफिकले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि राजमार्ग क्षेत्रका सडकमा ‘राडार गन’ सहित चेकिङ सुरु गरेको छ । सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले दुर्घटना न्यूनीकरणका लागि राडर गनको सहायताले जाँच शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख रबिन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“केही दिनदेखि हामीले राजमार्ग क्षेत्रका बिभिन्न स्थानका सडकमा चेकजाँच गरिरहेका छौँ, अब बढी सवारी साधन ओहोरदोहोर गर्ने व्यस्त बजार क्षेत्रलगायत जिल्लाका अन्य स्थानमा पनि ‘राडर गन’बाट चेकजाँच सुरु गर्छौँ” प्रमुख श्रेष्ठले भन्नुभयो ।

राजमार्ग सँगसँगै तीव्र गतिका कारण धेरै साना सवारी साधनहरू दुर्घटना हुने क्षेत्र गल्छि, देखि मलेखुसम्म र अन्य स्थानमा पनि समन्वयमा चेकजाँच शुरु गरिने उहाँले जानकारी दिनुभयो ।

बिषेशगरि गजुरीको यो क्षेत्रपनि दुर्घटना हुने जोखिम क्षेत्रकै रुपमा रहेकाले पनि बिहान बेलुका तथा अन्य समयमा पनि सवारी जाँच भईरहेको उहाँको भनाई छ । सडकखण्डमा तीव्र गतिका कारण ठूलाभन्दा साना दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनहरू दुर्घटना हुनेगरेको पाइएकाले ती सवारी साधनहरूको गति जाँच गरेर दुर्घटना न्यूनीकरणका लागि राडर गनसहित चेकिङ सुरु गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।

अत्यधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडार गन स्पिड जाँच गर्ने लेजर गन मेसिन प्रयोग गर्दै कारबाही थालिएको हो । सवारी दुर्घटनामध्ये अधिक्तम दुर्घटना तीव्र गतिका कारण हुने देखिएकाले दुर्घटना न्यूनीकरण गर्न जाँचमा नयाँ प्रविधि प्रयोग गरिएको हो ।

दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित राडार गनले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल सङ्केत दिने र ३ सय मिटरको दूरीमा आएपछि गति मापन गर्ने तथा त्यस्ता सवारी साधन तीव्र गतिमा छ भने सय मिटरको दूरीमा आएपछि नम्बरसहितको सवारी साधनको फोटो समेत राडर गनले खिच्ने गर्छ ।

कुन गाडी कति गतिमा गुडेको छ भन्ने राडर गनमा अङ्क देखिने र तस्बिर पनि खिचिने भएकाले सवारी साधन चेकजाँचमा राडर गनको सहायताले सहज हुने ट्राफिक प्रमुखको भनाई छ ।

सवारी साधन र चालकलाई कारबाही मात्रै दुर्घटना रोक्ने उपाय नभएको भन्दै ट्राफिक प्रमुख श्रेष्ठले चालकलाई सीमित गतिमा आफ्नो सवारी साधन चलाउन पनि आग्रह गर्नुभएको छ । गजुरी ट्राफिकले चेकजाँच र कारबाही मात्रै नभएर जिल्लाका विभिन्न ठाउँ–ठाउँमा पुगेर ट्राफिक नियम कानुनसम्बन्धि सचेतना कार्यक्रम पनि निरन्तर गरिरहेको छ ।

 

१९ बैशाख २०८१, बुधबार १२:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस