|  

आज आमाको मुख हेर्ने दिन, चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा

२६ बैशाख २०८१, बुधबार ०६:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख २६, काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा। वासुदेव कोइरालाका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् ।

हुन त आमालाई सम्मान गर्न कुनै विशेष दिन कुर्नु पर्दैन । तर, हाम्रो सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । ‘शास्त्रमा जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूला हुन् भनिएको छ, त्यसैले आमाप्रति श्रद्धाभाव व्यक्त गरिने यो पर्व आफैंमा निकै महत्वपूर्ण छ,’ डा। कोइरालाले भने ।

घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने तथा घर जान नपाएकाहरुले टेलिफोन गरेरै भए पनि आमालाई सम्झने गर्दछन् । हिजोआज सामाजिक सन्जालमा आमाको तस्वीर राखेर सम्मान भाव प्रकट गर्ने चलन पनि बढेको छ ।

चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा

यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीका दिन काठमाडौंको थानकोट क्षेत्रमा रहेको मातातीर्थमा मेला लागेको छ । मेला भर्नेहरुको बिहानैदेखि घुइँचो छ ।

कतिपय दर्शनार्थीहरु मंगलबार साँझ नै दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए । उनीहरुले बिहान सबेरै स्नान गरी पूजा गरेका छन् ।

मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास रही आएको छ ।

आमा नहुनेहरु मातातीर्थमा गई स्नान गरी हरिहर ९विष्णु र शिव० को पूजा गर्छन् । आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औँसीमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

यसैबीच मातातिर्थ औँसीको अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।

 

२६ बैशाख २०८१, बुधबार ०६:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस