|  

एसईई आजदेखि सुरु, ५ लाख परीक्षार्थी सहभागी हुँदै

१५ चैत्र २०८०, बिहीबार ०६:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १५, काठमाडौँ । यो बर्षको बिहीबार सुरु माध्यमिक शिक्षा परीक्षा एसईईमा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन् । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

गतवर्षको तुलनामा यसपटक परीक्षार्थी १२ हजारले कम छन् । यस वर्ष थपिएका २७ वटासहित देशभरका २ हजार ६४ केन्द्रमा परीक्षा हुँदैछ । यस्तै विदेशस्थित एक मात्र परीक्षा केन्द्र जापानमा गैरआवासीय नेपालीले सञ्चालन गरेको एभरेस्ट इन्टरनेसनल विद्यालयका २३ विद्यार्थी पनि सहभागी हुँदै छन् । उक्त विद्यालयबाट परीक्षा दिने यो तेस्रो ब्याच हो । त्यहाँ अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

चैत २७ सम्म हुने परीक्षामा सामुदायिक र निजी गरी १० हजार ८ सय ६ विद्यालयका परीक्षार्थी एसईईमा सहभागी हुँदै छन् । यसपटक नयाँ पाठ्यक्रमका आधारमा एसईई परीक्षा सञ्चालन हुन लागेको बोर्डले जनाएको छ । परीक्षार्थीको मूल्यांकनसमेत नयाँ लेटरग्रेडिङ पद्धतिअनुसार हुनेछ ।

१५ चैत्र २०८०, बिहीबार ०६:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस