|  

स्तनपान गराउने आमाले यी कुरामा दिनुस् ध्यान

१८ श्रावण २०८०, बिहीबार १३:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


‘विश्व स्तनपान सप्ताह’ सुरु भएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी स्तनपान सप्ताह मनाइँदै छ । बच्चाका लागि आमाको दूध अमृत समान भनिएको छ, तर पछिल्लो समय स्तनपान गराउने दर घट्दो क्रममा रहेको भन्दै बालरोग विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
स्तनपानको महत्व नबुझ्नु, सामाजिक मान्यता, कार्यस्थलमा सहयोगको अभाव, समुदायमा विभेद, दूध चुसाउने आसन नजान्नुलगायत विभिन्न समस्याले स्तनपानमा असर पुर्‍याइरहेको उनीहरू बताउँछन् ।
जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका अनुसार नेपालमा पछिल्लो समय स्तनपान गराउने क्रम घट्दो छ । ‘बच्चा पाएको एक घन्टाभित्रै आमाको दूध खुवाउनुपर्छ । तर, धेरै ठाउँमा आमाले बच्चा पाउनेबित्तिकै बच्चालाई दूध चुस्न दिएको पाइँदैन ।
प्राइभेट अस्पतालहरूमा अप्रेसन गरेकाहरूमा पनि आमाले केही दिनसम्म दूध चुसाउन पाउँदैनन्,’ उनले भनिन्, ‘गाउँघरमा पनि केही समय आमाको दूध खुवाइसकेपछि बाहिरको दूध बढी राम्रो हुन्छ भनेर बाहिरको दूध खुवाउँछन् ।
कतिपय आमाको दूध नआउँदा बाहिरको दूध खुवाउने गरेको पाइन्छ । ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनु राम्रो मानिन्छ, तर व्यवहारमा यस्तो लागू भइरहेको छैन ।’
यसकारण स्तनपान
– शिशुलाई जन्मेदेखि ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र खुवाउनुपर्छ । ६ महिना पूरा भएपछि पूरक खानाका साथ–साथै कम्तीमा दुई वर्षसम्म निरन्तर स्तनपान गराउनुपर्दछ ।
– आमाको दूध शिशुका लागि सर्वोत्तम आहार हो र यसले शिशुको रोगसँग लड्न सक्ने क्षमता बढाउँछ ।
– आमाको दूधमा जन्मेदेखि ६ महिनासम्मका शिशुलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वको मिश्रण उपयुक्त रूपमा रहेको हुन्छ । आमाको दूधमा संक्रमण, एलर्जी वा अन्य कुनै पनि रोगका जीवाणुसँग लड्ने तत्व बढी हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् । तर, काममा लागेका आमाहरू कार्यालयको बिदा सकिनु र पुनः काममा फर्किनुपर्ने कारणले पनि स्तनपानलाई निरन्तरता दिन र नियमित बनाउन नसक्ने हुँदा अन्य फर्मुला दूध खुवाउनुपर्ने बाध्यता रहेको मनमोहन हस्पिटलकी बालरोग विशेषज्ञ बिनुदा पौडेलले बताइन् ।
‘काममा लागेकाहरूले लामो समय बिदा पाउँदैनन्, तीन महिना बिदा दिइएको हुन्छ, बिदा सकिएपछि काममा फर्कनुपर्ने हुँदा नियमित स्तनपान गराउन नसक्ने हुन्छ,’ उनले भनिन् । शिशुलाई स्तनपान नगराई अन्य फर्मुला दूध खुवाएमा नपच्ने, पेट दुख्ने, पखाला लाग्ने, संक्रमित रोगसँग लड्ने क्षमता कम हुने, आइरनको कमी हुनेलगायतका समस्या देखिने उनले बताइन् ।
यी कुरामा ध्यान
– बच्चालाई ७ देखि १० मिनेटसम्म स्तनपान गराउनुपर्छ । बच्चाले २४ घन्टामा ८ देखि १० पटक भन्दा बढी पिसाब फेरिरहेको छ, राम्रोसँग सुतिरहेको छ भने उसलाई आमाको दूध पुगेको मानिन्छ । अन्य समयमा भन्दा स्तनपान गराउने आमाले खानपानमा विशेष ध्यान दिनुपर्छ । किनभने, आमाले खाएको खानेकुराबाटै दूध बनेर बच्चाले खाने हो ।
बच्चा जन्मिएदेखि ६ महिनासम्म सम्पूर्ण आहार आमाको दूध नै हो । त्यसैले आमाले पनि सन्तुलित र पोषिलो खानेकुरा खानुपर्छ । यसवेला फलफूल, झोल पदार्थ, ताजा खानेकुरा, हरियो सागपात, अन्डा, दूध, माछा, मासु प्रशस्त मात्रामा खानुपर्छ । यस्ता खानेकुरा खाएमा शिशुलाई दूध पर्याप्त हुने बताइएको छ ।
कतिपय आमाले स्तनपान गराउने आसन नजान्दा समस्या उत्पन्न भएको हुँदा बच्चालाई दूध खुवाउने आमाले स्तनपान गराउँदा आफूलाई सहज हुने तरिकाले बस्नुपर्छ ।
बच्चाको पूरै शरीरलाई आमाको हातले सपोर्ट गर्नुपर्छ । मुख र पेट आमातिर फर्केको हुनुपर्छ । बच्चाको पेट आमासँग टाँसिएर दूध खुवाउनुपर्छ । बच्चाको मुख आमाको स्तनसँग जोडिएको हुनुपर्छ ।
साभार:नयाँ पत्रिका दैनिकबाट

१८ श्रावण २०८०, बिहीबार १३:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस