|  

शुरु भयो गर्मी, फेरि बढ्न थाल्यो डेंगु

५ चैत्र २०८०, सोमबार १५:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । तापक्रम विस्तारै उकालो लागेर गर्मी शुरु भएसँगै डेंगु, इन्फ्लुएन्जा फ्लु तथा टाइफाइडका विरामी बढ्न थालेका छन्। डेंगुको संक्रमण यस वर्ष बर्खा नलाग्दै बढ्न थालेको हो । यो वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत वर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरूको चिन्ता छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग विशेषज्ञ डा गोकर्ण दाहालका अनुसार यो वर्ष हिउँदमा समेत केस शून्यमा झरेन । उनले पछिल्ला दिनमा बिस्तारै डेंगु संक्रमण बढ्दै गएको बताए ।

प्रि–मौसम सुरू हुने र गर्मी बढ्ना साथ अण्डाहरू लार्भा, प्युपा हुँदै लामखुट्टे बन्दा डेंगु फैलिने जोखिम बढी हुने उनले बताए । लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छ । विज्ञका अनुसार अघिल्लो वर्ष नै लामखुट्टेले प्रशस्त अण्डा पारेका कारण यो वर्ष डेंगु फैलिने उच्च जोखिम छ ।

‘पुस, माघ महिनामा कहिल्यै पनि केस शून्य भएन । अघिल्लो वर्ष नै महामारीको रुपमा डेंगु फैलिएका समुदायस्तरमा लामखुट्टेले प्रशस्त अण्डा पारेको छ । यस कारणले पनि यस वर्ष चूनौतीपूर्ण रहेको देखिन्छ,’ महाशाखाका किटजन्य रोग विशेषज्ञ डा। दाहालले भने ।

अघिल्लो वर्ष ७७ जिल्लामा फैलिएको डेंगुले २० जनाको मृत्यु र ५२ हजारभन्दा बढीमा संक्रमण भएको सरकारी तथ्यांक छ ।

 

५ चैत्र २०८०, सोमबार १५:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस