|  

नुवाकोटको दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन सुरु

२२ चैत्र २०८०, बिहीबार १५:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षणका रुपमा सुरु गरेको जुस उत्पादन सफल भएको हो ।

गाउँपालिका अध्यक्ष शंकर थापाका अनुसार उत्पादित जुसको सेवन योग्य प्रमाणीकरणको परीक्षण प्रक्रिया अघि बढाइएको छ।

यही साता आएको वर्षा र हावाहुरीले झारेका फूल सङ्कलन गरेर बनाइएको जुसको गुणस्तर मापन हुन बाँकी भए पनि न्यून लागतमा तयार गरिएको जुस गुणस्तरीय प्रमाणित भए राम्रो उत्पादन लिन सकिएको गाउँपालिकाका कृषि शाखाका सुदेश सुवेदीले बताए।

उनका अनुसार सेवनयोग्य परीक्षणमा प्राप्त नतिजामा आवश्यकताअनुसार सुधार गरेर सवलीकरण कार्यक्रममार्फत किसानलाई व्यावसायिक उत्पादनमा संलग्न गराउने लक्ष्य गाउँपालिकाले बनाएको छ।

चिकित्सकका अनुसार लालीगुराँसको फूलबाट उत्पादित जुस तथा अन्य उत्पादनको सेवनले घाँटीको दुखाइ कम गर्ने, रगतको मात्रा बढाउने, उच्च रक्तचाप रोक्ने, मिर्गौलासम्बन्धी रोगबाट बचाउने तथा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ।

२२ चैत्र २०८०, बिहीबार १५:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस