|  

माओवादी केन्द्रले सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्ने

६ आश्विन २०७८, बुधबार ०८:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा माओवादी केन्द्रले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । माओवादीको वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन हुने बताईएको छ ।

अध्यक्ष प्रचण्ड र नेता पुनले सोमबार आयोजित केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमुखीकरण बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिए । बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए ।

बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका पाँच÷पाँच जना सहभागी रहेको बताईएको छ । प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने तयरी गरेको छ ।

६ आश्विन २०७८, बुधबार ०८:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस