|  

बामदेव र बाबुराम चुनाव अघिनै माओवादीसँग मिल्न तयार !

१० श्रावण २०७९, मंगलवार ०७:४४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकता अभियान चलाईरहेका नेता बामदेव गौतमलाई माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा भेटवार्ता गरे । एक साता अघि गत मंगलबार अपरान्ह अध्यक्ष प्रचण्डले संसद सचिवालयको २ नम्बर भवनस्थित माओवादी संसदीय दलको कार्यालयमा रहेको प्रचण्डको कार्यकक्षमा जनता समाजवादी दलसँग लगभग विभाजित अवस्थामा रहेका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

बाबुराम र बामदेवसँग एकता

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार यी दुवै छलफलको लक्ष, उदेश्य र सन्दर्भ एउटै हो । चुनाव अघि सिद्धान्त र विचारसमेत लगभग मिल्ने वामदलहरुबीच समाजवादी केन्द्रका नामबाट गठबन्धन बनाएर जाने, नेपाली काँग्रेसँग तालमेल गर्ने र मिल्न सक्नेदलहरुबीच एकता नै गर्ने ।
यी तीन विषयको सेरोफेरोमा रहेर छलफल गर्दा उपेन्द्र यादवको जनता समाजवादीबाट लगभग फुत्किसकेका बाबुराम केही प्राविधिक विषयलाई छोड्ने हो भने मिल्न तयार देखिए । उनले प्रचण्डसँगको छलफलमा समेत आफूले माओवादी पार्टी उहिल्यै छोडिसकेकाले माओवादीमै फर्कन नसक्ने तर पार्टीको नाम फेर्ने हो भने प्रचण्डसँग मिल्न तयार रहेको बताएर निश्किएका थिए । सोमबार एकता अभियानका संयोजक बामदेव गौतमले पनि सोही लवजमा आफ्ना कुरा राखेर फर्किए । प्रचण्डसँगको भेटपछि नेता गौतमले पत्रकारहरुलाई जानकारी दिदै आफूले समाजवादी केन्द्र निर्माण प्रकृया छिटो अघि बढाउन आग्रह गरेको बताएका थिए । उनले भने,‘समाजवादी केन्द्र निर्माणमा वामपन्थी घटक सहमत भएको परिस्थितिमा यसलाई पूर्णता दिन ढिलाइ नगरौं भन्ने कुरा राखें । राजनीति अब प्रजातान्त्रिक समाजवादी र वामपन्थी समाजवादीमा ध्रुवीकरण हुन्छ। एउटाको नेतृत्व कांग्रेसले र अर्को खेमाको नेतृत्व हामीले गर्नका निम्ति समाजवादी केन्द्र निर्माण गर्न लागेका हौं । उनको भनाई थियो । गौतमले यो हतारो चुनाव अघि नै छिठो सक्न पनि प्रचण्डलाई आग्रह गरेका थिए ।
जसपाका नेता भट्टराई र एकता अभियानका गौतमसँगको छलफल पनि प्रचण्ड चुनाव अघिनै यी दुवै नेतासँग पार्टीगत हिसावले नै मिल्न सकिने निचोडमा पुगेका छन् । यदि एकता नै संभव नभएपनि एकता संयोजन समिति बनाएर काम गर्ने चुनावमा बलियो गठबन्धन बनाएर सकेसम्म एउटै चुनाव चिन्हमा लड्न प्रचण्ड, बामदेव र बाबुराम सहमत भएको स्रोतले  बतायो ।

समाजवादीसँग एकताको तयारी समिति

माधव कुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादीसँग कालान्तरमा पार्टी एकता गर्न दुवै दलका मूल नेतृत्व सहमत भएका छन् । अन्ततः कम्युनिष्ट केन्द्र बनाउने सिद्धान्तमा सहमत माधवकुमार नेपाल र प्रचण्डले अहिले एमाले अध्यक्ष केपी ओलीका कारण कम्युनिष्ट केन्द्र संभव नभएको तर एमाले भित्रका समाजवादी विचारसँग नजिककाहरुसँग छलफल भने गरिरहने रणनीति लिएका छन् । सोही रणनीति अन्तर्गत सोमबार प्रचण्डले एमाले नेता घनश्याम भुसालसँग सिंहदरबारमै छलफल गरेका थिए । एकता कालान्तरमा गर्ने भएपनि मसिनोगरि तयारी गर्न समाजवादी र माओवादीले एकता संयोजन समिति बनाएर अघि बढ्ने सहमति गरिसकेका छन् । अहिले पनि दुवै दलका केही नेताहरुले अनौपचारिक रुपमा तयारी गरिरहेको स्रोतको दावी छ । समाजवादी केन्द्र वा समाजवादी मोर्चाका नामबाट एमाले बाहेकका वामपन्थी दलहरुबीच गठबन्धन बनाएर जान एकीकृत समाजवादी पनि तयार देखिएको छ ।

उपेन्द्रको जसपासँग गठबन्धन

पार्टी एकताको प्रशंग आएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीले उत्ति सारै रुची देखाएको छैन । अहिलेको सन्दर्भमा नेकपा एमालेलाई कमजोर बनाउन संसद पुनस्थापना गराउन एक भएका दलहरु मिल्नु पर्छ र मिल्नेजति स्थानमा चुनावी गठबन्धन वा तालमेल गर्नुपर्छ भन्ने कुरामा भने जसपा स्पस्ट देखिएको छ । जसपाका अध्यक्ष यादवले प्रदेश र संघको चुनावमा समाजवादी केन्द्रको नामबाट गठबन्धन र तालमेल गर्ने तर एकताको प्रकृयामा अहिले नै नजाने संकेत प्रचण्डसमक्ष गरिसकेको छ ।

कांग्रेससँग चुनावी तालमेल

कम्युष्टि घटकहरुको बाक्लो उठबस र पार्टी भित्रकै असमझदारीका कारण नेपाली काँग्रेस भने अहिले सवैभन्दा धेरै सशंकित देखिएको छ । स्थानीय चुनावमा काँग्रेसले आफूले गठबन्धनको भोट लियो तर गठबन्धनका उम्मेदवारलाई भोट दिएन भन्ने आरोप सरकारको नेतृत्व गरिरहेको दलमाथि लाग्यो । गठबन्धन नै गर्नु हुँदैन भन्ने पार्टी भित्रका कतिपय नेताहरुको विरोधका बाबजुत प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन मार्फत नै चुनाव लडे । तर केही स्थानमा सत्ता गठबन्धनको तालमेल त भयो बलियो गठबन्धन र राम्रो परिणाम आएन । त्यसैले यसपालि काँग्रेससँग मिल्न सकिने जति स्थानमा समाजवादी केन्द्रले तालमेल गर्ने संभावना रहेको एक नेताले बताएका छन् ।

१० श्रावण २०७९, मंगलवार ०७:४४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस