|  

टान निर्वाचन आज : तिन जना चुनावी मैदानमा, कसले मार्ला वाजी ?

३० श्रावण २०७९, सोमबार ०८:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं, ३० साउन । ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । टानको नयाँ नेतृत्वको लागि दुई समूह प्यानलसहित एक जना स्वतन्त्र रुपमा मैदानमा होमिएका छन्। आज ह्यायत होटलमा हुने टानको निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने छ।

टानको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायी रामप्रसाद सापकोटा ‘कमल’, निलहरि बाँस्तोला र बोधराज भण्डारीले उम्मेदवारी दिएका छन् । मुख्य गरि नयाँ नेतृत्वको लागि सापकोटा र बाँस्तोला समूहविच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

नेकपा माओवादी केन्द्र निकट रामप्रसाद सापकोटा ‘कमल’ को प्यानललाई एमाले समर्थित एक खेमा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, बाबुराम भट्टराई र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी तथा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका एक समुहले समेत साथ दिएका छन् ।

त्यस्तै सापकोटालाई पूर्वपर्यटनराज्यमन्त्री तथा टानकी पूर्वअध्यक्ष यांकिला शेर्पा, टानका पूर्वअध्यक्षहरु जेवी सिंह, नवराज दाहाल, फुर ग्याल्जेन शेर्पा, सुमन पाण्डे, सीताराम सापकोटा, यती समूहका अध्यक्ष लाक्पा शेर्पा, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा, नेपाल पर्वतारोहण संघका निर्वतमान अध्यक्ष सन्तवीर लामा, पर्वतीय प्रशिक्षण प्रष्ठिानकी पूर्वअध्यक्ष लाक्पा फुटी शेर्पा, टानका पूर्ववरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पा, पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्यहरु राजेन्द्र सापकोटा, पम्फा धमला, गणेश सिंखडालगायतले सापकोटाको प्यानलको जितका लागि संयुक्त अपिल समेत जारी गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेस निकट अध्यक्षका अर्का उम्मेदवार निलहरि बाँस्तोलाको प्यानललाई नेकपा एकीकृत समाजवादी र नेकपा एमाले निकट पर्यटन व्यवसायी संगठनको समर्थन रहेको छ । अध्यक्षका प्रत्यासी निलहरि बाँस्तोलाले अग्रजले देखाएको बाटोलाई आत्मसाथ गर्दै टानलाई अन्तर्राष्ट्रिय ‘ब्राण्डिङ’ गर्न आफू प्रतिबद्धताका साथ लाग्ने बताए । उनले भने, ‘टानलाई व्यवसायीको हितमा समयसापेक्ष अघि बढाउन हामी प्रतिबद्धताका साथ दुई वर्ष काम गर्न चाहन्छौँ, टानलाई इन्टरनेश्नल ब्राण्डिङ गर्न सम्पूर्ण समय खर्चने छौँ, त्यसैले निर्वाचनमा आफ्नो समूहलाई विजयी बनाउन अनुरोध गर्दछु ।’

बाँस्तोला समुहलाई पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पा, बिक्रम पाँडेकाजी, टानका अध्यक्ष खुमबहादुर सुवेदीले, तानाका पुर्वअध्यक्ष रमेश धमला, नाट्टाका अध्यक्ष रमेश थापा, टानका पूर्वअध्यक्ष दीपक महत लगाएतको समर्थन रहेको छ।

टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिने व्यावस्था छ । एक हजार आठ सय व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार दुई सय ५० मतदाता रहेका छन् ।

३० श्रावण २०७९, सोमबार ०८:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस