|  

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिंदै

२२ चैत्र २०८०, बिहीबार १२:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिनु हुने भएको छ । मुख्यमन्त्री शाहले मंगलबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको हो ।

प्रदेशसभा सचिवालयले आज तीन बजेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको थियो । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

साथै विश्वासको मत लिने सूचना दुई दिनअघि नै प्रदेशसभालाई दिनुपर्ने नियमावलीमा व्यवस्था छ । त्यस अनुसार मुख्यमन्त्री शाहले सूचना दिनुभएको हो ।

प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । मुख्यमन्त्री शाहले सरकार जोगाउने प्रयासमा नागरिक उन्मुक्ति पार्टीका ५ सांसदलाई मन्त्री बनाउनु भएको छ ।

तर सरकारलाई समर्थन गर्ने/नगर्नेबारे नाउपामा चर्को विवाद छ । सरकारमा नभएका नाउपाका अरु दुई सांसद समर्थन नगर्ने पक्षमा देखिएका छन् ।

 

२२ चैत्र २०८०, बिहीबार १२:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस