|  

गोरखा भूकम्पको ९ वर्ष पूरा

१२ बैशाख २०८१, बुधबार ०९:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख १२, काठमाडौँ । वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रुपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्‍याएको थियो । यो विनाशकारी भूकम्पको नौ वर्ष पूरा भएको छ । सोही दिनको स्मृतिमा बुधबार भूकम्प स्मृति दिवस मनाइँदैछ ।

अघिल्लो पुस्ताले सुनाउँदै आएको १९९० सालको भूकम्पलाई बिर्साउने गरी वैशाखमा गएको विनासकारी भूकम्पको सम्झना गर्दै बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ ।

खानी तथा भूगर्भ विभागले गोरखा भूकम्पको सम्झनामा बुधबार बृहत् फोटो प्रदर्शनी गर्दैछ भने देशभर सचेतनामूलक कार्यक्रमहरू हुँदैछन् ।

१२ बैशाख २०८१, बुधबार ०९:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस