|  

धादिङमा पुनः एक साताका लागि निषेधाज्ञा थपियो

१४ जेष्ठ २०७८, शुक्रबार १८:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


जिल्ला प्रशासन कार्यलय धादिङले कोरोना भाइरसको संक्रमण तीव्र भएपछि जारी गरेको निषेधाज्ञा एक साताका लागि थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिशमा प्रशासनले कोरोना नियन्त्रणका लागि भन्दै गत वैशाख २१ गतेदेखि लगाएको निषेधाज्ञा यही जेठ १५ गते राती देखि लागू हुने गरी २२ गते राती १२ वजे सम्मको लागि थप गरेको हो । नयाँ भेरियन्टसहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि भन्दै प्रशासनले यस अघि जारी गरेको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरेको जनाएको छ । यसअघि पनि प्रशासनले निषेधाज्ञाको समय एक साता थप गर्दै आएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले थप एकसाताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो । प्रजिअ ढकालका अनुसार निषेधाज्ञामा यस अघि जारी भए जस्तै अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म पसल खुला रहने छन । तोकिएको समयमा अत्यावश्यक खाद्यान्नका पसल र डिपार्टमेन्ट स्टोर्स ,खाद्य सामग्री मात्र विक्री गर्न खुला हुने छन । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसल पनि विहान ६ वजे देखि ९ वजे सम्म मात्रै खोल्न पाइने निर्णय गरेको छ ।
सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति अनावश्यक रुपमा घर बाहिर निस्किन पाउने छैनन् ।

सार्वजनिक तथा निजी सवारी साधन पनि जेठ २२ गते राती १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा ९बढीमा २ जना० बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्र्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने भएको छ ।

विवाह, ब्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने र बढीमा १० जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम कर्मचारी खटाई स्वास्थ्य सुृरक्षा मापदण्ड कायम गर्दै हप्ताको २ दिन मात्र आलोपालो प्रणाली गरि खोल्न पाईने जनाइएको छ ।

अत्यावश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई परिचय पत्र र कार्यालय पोशाक आधारमा आवतजावत गर्न दिइने भएको छ ।

निषेधाज्ञाको अवज्ञा गर्ने व्यक्तिलाई एक पटकमा एक लाख र संस्थालाई पाँच लाख रुपैयाँ सम्म जरिवाना गर्न सकिने भन्दै स्थानीय प्रशासनले जारी गरेको आदेश कडाईका साथ पालना गर्न निर्देशन जारी गरेको छ । त्यसै गरी मास्क नलगाई हिंडडुल गरेमा पटकै पिच्छे एक सय रुपैयाँ , अनावश्यक रुपमा ंिहँडडुल गनैृ सर्वसाधरणलाई पटकै पिच्छे दुई सय रुपैयाँ, आदेशमा तोकिएका बाहेक अन्य सवारी साधन चलाएमा दुई पाँग्रेलाई दुई हजार र अन्य सवारी साधनलाई पटकै पिच्छे पाँच हजार रुपैया जरिवाना गरिने आदेशमा जनाईएको छ ।

निषेधाज्ञाको वेला जिल्ला भित्र सूर्ती चुरोट, मदिराजन्य उत्पादनहरु ओसार पसार र बिक्री बितरण गर्न समेत रोक लगाईएको छ ।

१४ जेष्ठ २०७८, शुक्रबार १८:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस