|  

पहिलोपटक डिजिटल कृषि सम्मेलन २०२१ आयोजना हुँदै

२१ श्रावण २०७८, बिहीबार १५:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


प्राविधिक विद्यार्थी संघ नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय (TSAN-AFU) र युथ थिङ्कर्स सोसाइटी – चितवन(YTS Chitwan)को सहकार्यमा डिजिटल कृषि सम्मेलन हुने भएको छ। कोरोना महामारीबाट सिर्जित प्रतिकूल अवस्थाका कारण सम्मेलन भर्चुअल रूपमा नै सञ्चालन गरिने भएको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरूद्वारा अन्तर्राष्ट्रिय स्तरको कृषि सम्मेलन आयोजना हुन लागेको यो पहिलो पटक हो । उक्त सम्मेलन आउँदो असोज २ र ३ गते जुम मिटिङ एप मार्फत सञ्चालन हुने बताइएको छ ।

‘Reliable DigiCulture, Resilient Agriculture’ भन्ने मुल नाराका साथ सञ्चालन गर्न लागिएको सम्मेलनलाई ‘Forefront in Sustainable agriculture:Digitization and Climate Resilience’ नाम दिइएको छ । कृषि प्रविधिमा युवावर्गको ज्ञानको क्षितिज फराकिलो बनाउने अभिप्रायका साथ युवाहरूद्वारा नै सञ्चालन हुने यस सम्मेलन देशभरीका युवा क्षमतालाई जोड्ने एउटा भरपर्दो माध्यम बन्ने विश्वास रहेको आयोजना समितिले जनाएको छ ।

यस सम्मेलनले सहभागी र कृषि प्राविधिकहरूलाई आधुनिक कृषि उपकरणका बारेमा जानकारी दिनु, कृषक र प्रविधि बिचको दूरी घटाउनु, कृषि विज्ञको भूमिकाबारे सचेत बनाउनु, अव्यवस्थित प्रविधिले किसान र कृषि प्रणालीमा पार्ने असरका बारेमा जानकारी गराउनु र उद्यमीहरूबाट दिगो रूपमा आधुनिक कृषि सञ्चालन गर्न सल्लाह सुझाव प्रदान गर्ने जस्ता लक्ष्य राखेको छ । साथै, नवीनतम् प्रबिधि र डिजिटल कृषि सम्बन्धि बिषयलाई सामेल गर्नेगरि कृषि विश्वविद्यालयहरूका पाठ्यक्रमलाई परिमार्जनका लागि प्रेरित गर्नु पनि यस सम्मेलनको उद्धेश्य रहेको आयोजकले बताएको छ ।

दुई दिनसम्म चल्ने उक्त अन्लाईन सम्मेलनमा देश तथा विदेशबाट सम्बन्धित क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्नुभएका बिद्यार्थी तथा बैज्ञानिक, विभिन्न बिश्वबिद्धालयका पदाधिकारी तथा प्राध्यापक , सरकारका प्रतिनिधि, कृषक तथा यस पेसामा लाग्नुभएका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहने छ । जहाँ कृषिमा प्रविधि र आविस्कारको दिगो तथा उचित प्रयोगका बारेमा सहभागीहरूसँग प्रत्यक्ष कुराकानी गर्दै आफ्ना अनुभव, ज्ञान, दृष्टिकोण र विचारहरू व्यक्त हुने छन् । दुई दिने यस सम्मेलनलाई भिन्नभिन्न कार्यक्रममा सञ्चालन गरिने छ । जसमा अन्तरक्रियात्मक कार्यक्रम, भिडियो प्रस्तुतीकरण र नयाँ विषयमा भएका अनुसन्धानका बारेमा परिचर्चा हुनेछ । विशेषत: कृषि क्षेत्रमा आधुनिकीकरणको अवस्था तथा आवश्यकतालाई मध्यनजर गरी कार्यक्रमहरू सञ्चालन गराइने छन् । यसको अतिरिक्त, कार्यक्रमलाई मनोरञ्जनसँग जोड्नका लागि सहभागीहरूको बौद्धिक क्षमता वृद्धि गर्ने खालका खेलहरू पनि खेलाइने बताइएको छ ।
विद्यार्थीहरुको यस किसिमको उत्साह तथा कार्यक्रम गर्ने जमर्कोबाट आफू एकदमै खुसी भएको र आफ्नो ठाउँबाट गर्नुपर्ने सहयोग गर्न तत्पर रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताउनु भएको छ । त्यस्तै विश्वविद्यालयकी रजिस्ट्रार प्रा.डा. शारदा थपलियाले यस किसिमको सम्मेलनले विद्यार्थीहरुको व्यक्तित्व विकास गर्ने र यसबाट देशभरिका कृषिकर्मीले फाइदा उठाउन सक्ने कुरामा जोड दिनुभयो। साथै बिद्यार्थीहरुको जागरुकताबाट आफू हर्षित भएको र सम्मेलनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत विधार्थीहरूद्वारा आयोजन हुन लागेको यस सम्मेलनलाई उक्त विश्वविद्यालयको पूर्ण साथ र सहयोग रहेको छ । त्यस्तै राष्ट्रिय युवा परिषद् र कृषि विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालय (DOREX) को पनि सहयोग रहेको आयोजना समितिले जानकारी दिएको छ।
नेपालको कृषि क्षेत्रमा भएका नवीन आविष्कार र डिजिटल प्रविधिको वर्तमान अवस्था , यसको समुचित तथा दिगो प्रयोग र आगामी दिनहरूका कदम बारे छलफल तथा चर्चा गरिने यस कृषि सम्मेलनमा सम्पूर्ण कृषि विद्यार्थी , प्राध्यापक, अनुसन्धानकर्ता, कृषि उद्दमी, तथा सरकारी निकायहरूको उपस्थितिको अपेक्षा रहेको आयोजकले बताएको छ ।

२१ श्रावण २०७८, बिहीबार १५:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस