|  

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ को नयाँ तालिका सार्वजनिक

१६ चैत्र २०८०, शुक्रबार ०७:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत्र १६, काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच बिहीबार हुने ट्वान्टी–२० क्रिकेट खेल रद्द भएको छ । अघिल्लो दिनदेखि नै परेको वर्षाले मैदान भिजेका कारण दिउँसो १ बजे सुरु हुने खेल टस हुनुअघि नै रद्द भएको घोषणा गरिएको थियो ।

निर्धारित तालिकाअनुसार आयरल्यान्ड ‘ए’ ले बिहीबार, शुक्रबार र आइतबार गरी तीन ट्वान्टी–२० खेलको शृंखला खेल्ने कार्यक्रम थियो । बिहीबार खेल हुन नसकेपछि नेपाल क्रिकेट संघले नयाँ खेलतालिका निकालेको छ । जसअनुरुप अब शुक्रबार, शनिबार र सोमबार गरी तीन ट्वान्टी–२० खेल हुनेछ ।

आयरल्यान्ड ‘ए’ ले त्यसपछि नेपाल ‘ए’ सँग तीन एकदिवसीय खेल खेल्ने कार्यक्रम छ । त्यसअघि दुई दिन विश्राम दिन थियो । तर अब ट्वान्टी–२० पछि १ दिनमात्र विश्राम दिन राखिएको छ । एकदिवसीय शृंखला बुधबार सुरु हुनेछ । शृंखलाका तीन खेल चैत २१, २३ र २५ मा हुनेछ ।

भेट्रान खेलाडी विनोद भण्डारीले ट्वान्टी–२० र एकदिवसीय दुवैमा नेपाल ‘ए’ को कप्तानी गर्नेछन् । आयरल्यान्ड ‘ए’ ले नेपाली राष्ट्रिय टोलीसँग यसअघि नै दुई ट्वान्टी–२० खेलिसकेको छ ।

१६ चैत्र २०८०, शुक्रबार ०७:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस