|  

आज महिलाहरुको पर्व हरितालिका तीज : यस्तो छ तीजको महिमा

२४ भाद्र २०७८, बिहीबार ०८:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। आज नेपाली महिलाहरुको महान पर्व तीज । देशभर यो पर्व धुमधामसँग मनाईदै छ। सरकारले तीजको मुखैमा निषेधाज्ञा हटाएकाले यस वर्ष महिला दिदिबैनीहरुले खुलेर तीज मनाईरहेका छन्।

हिजो दर खाएर बसेका महिलाहरु आज दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन्। देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको विहानैदेखि भीड लागेको छ। निराहार ब्रत बस्ने, पूजा आराधना गर्ने र तीजका गीतमा नाचगान गर्ने क्रम दिनभर चलिहरहने छ।

हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ। यसवर्ष कोरोना संक्रमण कम हुँदै गएको र निषेधाज्ञा पनि हटेको कारण पोहोरको तुलनामा तीजको रमझम धेरै छ।

तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञले आग्रह गरेका छन्। सकेसम्म घरमै मनाउन र भौतिक दूरी कायम गर्न उनीहरुको आग्रह छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तीजको शुभकामना व्यक्त गर्दै स्वास्थ्य मापदण्ड पालनासहित हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन अनुरोध गरेका छन्।

यसैबीच यसवर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ। पशुपतिनाथ मन्दिर वैशाख पहिलो हप्तादेखि नै बन्द गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले भोलिदेखि मात्र पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव बर पाउँ भनी कठोर तपस्या गरेको कथामा यो पर्व आधारित रहेको छ। चिकित्सकहरुले भने कोरोना महामारीको जोखिम अहिले पनि रहेकाले भौतिक दूरी कायम राख्ने र बढी भीडभाड नगरी तीज पर्व मनाउनु पर्ने सुझाव दिएका छन्। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

२४ भाद्र २०७८, बिहीबार ०८:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस