|  

आफ्नै भवनमा आइसोलेशन बनाउने पत्रकार महासंघ धादिङको निर्णय

२३ बैशाख २०७८, बिहीबार १८:४५ प्रकाशित
प्रदेश हव न्युज डेस्क


बैशाख-२३,धादिङ

नेपाल पत्रकार महासंघ धादिङ शाखाको बैठक जुम प्रविधिबाट बुधबार सम्पन्न भएको छ। बैठकले पछिल्लो समय धादिङ मा बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदै पत्रकारका लागि आफ्नै भवनमा २ वेडको आइसोलेशन बनाउने निर्णय गरेको छ ।

धादिङ शाखाको अध्यक्ष राजाराम शर्माको अध्यक्षतामा सम्पन्न बैठकले २ वेड सहितको आइसोलेशन बनाउने सहित विभिन्न ७ वटा निर्णय गरेको हो ।

निर्णयहरु

१. विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ संक्रमणको दोस्रो लहर नेपालमा पनि देखिएको सन्दर्भमा यस जिल्ला शाखाले कोभिड–१९ को दोस्रो लहरको प्रारम्भिक स्वरुप विश्लेषण गर्दा सञ्चार क्षेत्रमा गम्भीर समस्या उत्पन्न हुने आँकलन गरेको छ । संक्रमणको समयमा प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार तथा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान र समन्वय गर्न उपाध्यक्ष सानुवावु तिमिल्सिनाको संयोजकत्वमा सचिव रामबहादुर ठकुरी (आशिष), सदस्य नीरमाया गुरुङ (डोल्मा), सदस्य अनिल नेपाली र सदस्य विक्रम अधिकारी सदस्य रहेको आपतकालिन अनुगमन समिति गठन गरेको छ ।

२. कोभिड–१९ संक्रमणको दोस्रो लहर संक्रमण दिनानुदिन बढ्दैछ । आजको यो वैठक सञ्चालन गर्दासम्म एकजना पत्रकार (डा. मुरारी अधिकारी) मा संक्रमण देखिएको छ । यस किसिमको समस्या अरुमा पनि उत्पन्न हुनसक्छ भन्ने आँकल गरी पत्रकारलाई स्वास्थ्य सेवा लगायतका विषयमा सहयोग गर्न बागमती प्रदेस सरकार, नेपाल पत्रकार महासंघ, बागमती प्रदेस समिति र धादिङ जिल्लाका सरोकारवालासंग समन्वय गरी जिल्ला शाखाको सचिवालय भवनको सभाहलमा कम्तिमा २ बेडको क्वारेन्टाइन/आइसोलेशन तयार गर्ने निर्णय गरेकोछ ।

३. कोभिड–१९ दोश्रो लहरको रिपोर्टिङका क्रममा सरकारी तथा अन्य क्षेत्रका अधिकारीहरूले स्वतन्त्र पत्रकारिता र सूचनाको पहुँचमा अवरोध खडा गर्न सक्छन् । यस्तो गर्न खोजेपनि धादिल्का पत्रकारहरुले कोरोना भाइरस, यसको महामारी र यसविरुद्ध लड्न गरिएका सरकारी वा अन्य निकायका प्रयासबारे आम नागरिकलाई निरन्तर सूचना दिएर महत्वपूर्ण भूमिका खेलिरहेका छन् । संचार क्षेत्रमा काम गर्नेहरुले अत्यधिक तनाव र दबाबको सामना पनि गर्नुपरेको छ । यसका अलावा यात्रा गर्दा होस् अथवा अन्तरवार्ता लिँदा अथवा विभिन्न ठाउँ पुग्दा प्राय संक्रमणको जोखिममा उनीहरू हुन्छन् नै ।

कोभीड १९ का कारण पत्रकारहरुले नियन्त्रण (सेन्सरशिप), नजरबन्द, शारिरीक र अनलाइनमार्फत हुने दुव्र्यवहार समेत खेप्नुपरेको छ भने कतिले आफ्नो कामधाम समेत गुमाएका छन् । यस्तोबेलामा पत्रकार आचार संहिताको पूर्ण पालना गर्दै फिल्डमा सुरक्षित रहने, पहिले नै असाइनमेन्ट लिने, मनोवैज्ञानिक स्वास्थ्य मजवुत बनाउने, संक्रमणबाट बच्ने र बचाउने, कोभिड १९ संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मिहरू र उच्च जोखिम क्षेत्रमा काम गर्नेहरुसँग कुराकानी गर्दा सतर्क रहने र विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अवलम्बन गर्न भनेका स्वास्थ्य मापदण्ड पूर्ण परिपालन गर्न सबै पत्रकारहरुसंग आग्रह गर्ने निर्णय गरेको छ ।

४. कोभिड–१९ को दोस्रो लहरको जोखिम न्युनिकरणको लागि पूर्व तयारी स्वरूप यस शाखाका उपाध्यक्ष सरिता श्रेष्ठको संयोजकत्वमा द्रुत प्रतिक्रिया टोली Rapid Response Team (RRT)  गठन गरेको छ । यस टिमको सदस्यमा, कोषाध्यक्ष शिव देवकोटा (सञ्जय), सह–सचिव राजाराम डंगोल, सदस्य विकास रौनियार, सदस्य उपेन्द्र अधिकारी सदस्य रहनु भएको छ ।

५. गत वर्ष विभिन्न विमा कम्पनीबाट पत्रकारहरुको कोरोना विमा गरिएको थियो । कोरोना संक्रमण बढ्दैजाँदा केहि पत्रकार साथीहरुको RT-PCR नतिजा Posotive आएको थियो । यसपछि आवश्यक कागजात सहित नियमानुसारको विमा दावी गर्दा हालसम्म विमाको रकम प्राप्त नभएकोमा यस कार्य समितिको गम्भिर धानाकर्षण भएको र सम्बन्धित विमा कम्पनीमा तत्कार रकम भुक्तानीकालागि पहल गर्ने निर्णय भएको छ ।

६. विभिन्न कारणले कोरोना खोप लगाउन छुटेका पत्रकारहरुलाई तत्काल खोपको व्यवस्था गर्न सरोकारवालासंग माग गरेको छ ।

७. नेपाल पत्रकार महासंघको विधान अनुसार यस शाखाको सल्लाहकारमा ३ जना रहने व्यवस्था गरेको छ, जस अनुसार निवर्तमान अध्यक्ष, त्यस अघिका पूर्व अध्यक्ष र समितिको निर्वाचनमा अध्यक्ष पदका निकटतम प्रतिद्वन्द्वी रहने व्यवस्था छ । कार्य समितिको आजको वैठकबाट शाखाका पूर्व अध्यक्ष राजेन्द्र प्रताप शाहलाई सल्लाहकारमा मनोनयन गरेको छ । यसपछि शाखामा नवराज छत्कुली, पोषनाथ अधिकारी र राजेन्द्र प्रताप शाह गरी ३ जना सल्लाहकार रहनु हुनेछ ।

 

 

 

 

२३ बैशाख २०७८, बिहीबार १८:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस