|  

आन्तरिक तथा बाह्य उडान सूरु गर्ने तयारी

३० असार २०७७, मंगलवार २१:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


चैत ११ गते लकडाउन देखि हवाई उडानमा लाग्दै आएको प्रतिबन्ध चाँडै खुला हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पहिले आन्तरिक उडान खोल्ने गरी सरकारले तयारी थालेको बताएका हुन् । त्यसपछि अगस्तको दोस्रो साता अन्तर्राष्ट्रिय नियमित उडान गर्ने तयारी भइरहेको उनले बताए ।
रातोपाटीसँग कुरा गर्दै मन्त्री भट्टराईले भने, ‘हामीले अरु देशले कसरी उडान खोलिरहेका छन् भनेर पनि अध्ययन गरिरहेका छौँ । नागरिक उड्डयन प्राधिकरणलाई त्यसको निगरानी गर्न भनेको छु । चाँडै नै आन्तरिक उडान खोल्ने गरी पूर्वतयारी गरेका छौँ । अन्तर्राष्ट्रिय उडान भने त्यसपछि मात्र खोल्छौँ ।’
साउन ६ गतेसम्मको प्रतिबन्ध पछि खुला गर्न लागिएको हो भन्ने प्रश्नमा भट्टराईले ‘यति चाँडो त होइन तर खुल्न चाहीँ चाँडै खोल्ने तयारी रहेको’ बताए । साउन ६ गतेसम्मका लागि लगाइएको उडान प्रतिबन्ध केही समय थप भएर उडान खोल्ने देखिएको छ । यद्यपि, उडान खोल्ने वा प्रतिबन्ध लगाउने भन्ने विषयको टुङ्गो मन्त्रिपरिषदले लगाउनेछ । सम्भवतः विहीबार सार्वजनिक हुने मन्त्रिपरिषद्को निर्णयमा यस विषयको पनि सम्बोधन हुनेछ ।
अहिले आन्तरिक उडान खोल्ने पूर्वतयारी भने भइरहेको छ । अन्तर्राष्ट्रिय उडान भने अगस्तको दोस्रो साता खोल्ने सङ्केत पर्यटन मन्त्रीले दिएका छन् । कोभिड–१९ को जोखिम न्युनिकरण गरी सुरक्षित हवाई सेवा सञ्चालनसम्बन्धी प्रोटोकल तयार गरि स्वीकृत भइसकेको छ । प्रमुख विमानस्थलमा निश्चित दुरी कायम गरी सञ्चालनको तयारीको लागि मार्किङसहितको सुरक्षा उपाय उपनाइएको छ ।

मन्त्री भट्टराईले नै पत्रकार सम्मेलनमा उडान खोलेपनि जहाजबाट झरेपछि गन्तव्यसम्म जान सवारी साधनको आवश्यक पर्ने भएकाले सार्वजनिक सवारी खुल्ने÷नखुल्ने नै निश्चित नभएकाले उडान मात्र खोलेर नहुने बताएका थिए । तर, सरकारले सार्वजनिक सवारी चलाउन खुला गरिसकेको छ । यस्तो अवस्थामा अब उडान के हुन्छ भन्ने आम मानिसको चासो छ । उडान सुरक्षामा कुनै पनि सम्झौता हुन नदिन नागरिक उड्डयन प्राधिकरणले १३ वटा क्विक रिफरेन्स गाइड र १० वटा एडभाइजरी सर्कुलर जारी गरेको छ । वायुसेवा विमानस्थल तथा अन्य उडान सेवाले अपनाउनुपर्ने सुरक्षा तथा सावधानीको विषयमा एयरलाइन्सको लागि निर्देशन, कोभिड–१९ अवधिमा सञ्चालनका लागि एयरपोर्टस एण्ड ग्राउण्ड सर्भिसेज जारी गरेको मन्त्रालयले जनाएको छ । साभार ः रोतोपाटी डटकमबाट।

३० असार २०७७, मंगलवार २१:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस