|  

यी हुन् चिसो मौसममा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

६ मंसिर २०८०, बुधबार ०७:३९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


सामान्य रुघाखोकी

चिसो बढेसँगै रुघा, खोकीका बिरामीहरुको संख्या पनि बढ्छ । रुघाखोकी मौसमी फ्लु भएको हुनाले केही दिनपछि आफैँ निको हुन्छ । सामान्य ज्वरो पनि आएको खण्डमा सिटामोल तथा साइनेक्सको प्रयोग गर्न सकिन्छ । आफूलाई न्यानो राख्ने, तातो पानी पिउने र सिटामोलको तथा साइनेक्सको सेवनले पनि कम नभएको खण्डमा चिकित्सकको सल्लाह लिनुपर्छ । चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक्सको सेवन गरिहाल्नु हुँदैन ।

घाँटी तथा माथिल्लो स्वास नलिमा संक्रमण

चिसो मौसममा घाँटी तथा माथिल्लो स्वास नलिमा संक्रमण पनि देखिन्छ । स्वास नलिको संक्रमण, टन्सिलको संक्रमण, पिनाससँगै खोकी र खाना निल्न गाह्रो हुने जस्ता विभिन्न समस्याहरु पनि अन्य मौसमको तुलनामा चिसो मौससमा देखिने गर्छ । भाइरस इन्फेक्सनको कारणले यी समस्याहरु चिसोमा बढी देखिने गर्छ । यस्ता समस्याहरु भएको खण्डमा न्यानो कपडा लगाउने र तातो पानी पिउने र सामान्य खोकीको औषधि पनि सेवन गर्न सकिन्छ । यी कुराहरुमा ध्यान दिँदा पनि संक्रमण कम नभएर झ्न बढ्दै गएमा चिकित्सकको सल्लाह लिनुपर्छ 

हाइपोथर्मिया

चिसो मौसममा अत्यन्त चिसो हुने ठाउँ तथा सित लहर चल्ने ठाउँका मानिसहरुलाई हाइपोथर्मिया पनि हुन सक्छ । शरीरको भित्री तापक्रम कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया भनिन्छ । जाडो मौसममा शरीरले तापक्रम उत्पन्न गर्न नसकेर हाइपोथर्मिया हुन्छ । हाइपोथर्पिया भएको बिरामीले शरीरलाई तातो बनाउनुपर्छ । पर्याप्त मात्रामा न्यानो कपडा लगाउनु पर्छ र तातो झोलिलो खानेकुराहरु खानुपर्छ ।

दम (सिओपिडी तथा अस्थामा)

दमका बिरामीहरुले चिसो मौसममा विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । यो रोगका बिरामीहरुमा चिसो मौसममा इन्फेक्सनहरु फैलिन र छातीको संक्रमण हुन सक्छ । जसले गर्दा अस्पताल नै भर्ना हुनु पर्ने अवस्था सिर्जना हुन सक्छ । त्यसैले दम भएका बिरामीले आफूलाई न्यानो राख्ने, तातो पानीको सेवन गर्ने, दमका लागि प्रयोग गर्दै आएको औषधि नियमित सेवन गर्नुपर्छ । र, चिकित्सकसँग निरन्तर सम्पर्कमा बस्नुपर्दछ ।

मुटुको समस्या

मुटुका बिरामीहरुले पनि चिसो मौसममा अलि विशेष ध्यान दिनुपर्छ । मुटुले शरीरलाई तातो बनाउनको लागि रगतको मात्रा शरीरमा पुर्याउनु पर्ने हुँदा मुटुलाई धेरै असर पर्ने हुन्छ र कहिले काँही हार्टअट्याकको समस्या पनि आउन सक्छ । तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ । त्यसैले मुटुका बिरामीहरुले धेरै चिसोमा हिड्नु हुँदैन र शरीरलाई तातो बनाएर राख्नु पर्छ ।

जोर्नी दुख्ने समस्या

चिसो मौसममा जोर्नीहरु दुख्ने समस्या पनि देखिने गर्छ विशेषगरि बाथ रोगका बिरामी र वृद्धवृद्धाहरुमा यो समस्या देखिन सक्छ । चिसोमा काम गर्दा तथा हिँड्डुल गर्दा हातखुट्टा दुख्ने तथा सुन्ने समस्याहरु हुन सक्छ । त्यसैले बाथ तथा जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुले चिसोबाट बच्नु पर्छ । चिसोमा बाहिर ननिस्कने र शरीरलाई न्यानो बनाएर राख्नुपर्छ ।

छालाको समस्या

जाडोमा चिसोका कारण देखिने विभिन्न समस्याहरु मध्ये छालाको समस्या पनि हो । विशेष गरी बाहिरी वायुको तापक्रम कम हुदै जाँदा सुख्खा वायुका कारण छाला सुख्खा हुन्छ । छाला सुक्खा हुने, चिलाउने, ओठ फुट्ने समस्या पनि जाडोमा धेरैलाई हुन्छ । छालालाई सुख्खा हुनबाट बचाउनको लागि भ्यास्लीन तथा अन्य मोस्चर्राजरको प्रयोग गर्न सकिन्छ । समस्याहरु एकदमै बढ्दै गएको छ भने छाला रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।

चिसोबाट बच्न ध्यान दिनुपर्ने कुराहरु

– न्यानो कपडाहरु लगाउने ।
– पर्याप्त मात्रामा शारीरिक व्यायाम गर्ने
– मुटुका बिरामीहरुले जाडोमा धेरै शारीरिक काम नगर्ने । बिहान बेलुका धेरै चिसोमा घर बाहिर ननिस्कने
– स्वास्थ्य खानपानमा ध्यान दिनुपर्छ । तातो तथा झोलिलो कुराहरु प्रसस्त मात्रामा खाने
– धेरै चिसो र बासी खानेकुराहरु नखाने
– शरीर पुरै ढाक्ने खालको कपडाहरुको साथै मोजा, पन्जा र टोपी पनि लगाउने ।
– शरीर तथा कोठालाई न्यानो बनाउनको लागि कोइला बालेर ताप्ने पनि गरिन्छ तर त्यसको धुवाले निसास्सिने तथा सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु हुन सक्छ त्यसैले त्यो कुरामा पनि ध्यान दिनुपर्छ ।

६ मंसिर २०८०, बुधबार ०७:३९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस