|  

धादिङ सिद्धलेकका जागिरे शिक्षक एमालेको वडा सचिवमा चयन

८ कार्तिक २०७८, सोमबार १७:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ ।  सरकारी सेवा सुविधा लिने तर राजनीतिक दलको झाेला बाेक्ने प्रवृत्ती बढेपछि सरकारले सरकारी सेवामा रहेका व्यक्तिहरुलाई राजनीतिमा लाग्न पूर्ण प्रतिवन्ध लगाएको छ ।

साे अनुसार शिक्षा मन्त्रालयले जारी गरेकाे नियमानुसार सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाइ राजनीति गर्न बन्देज गरिएकाे छ । शिक्षकहरु पढाउन नै छाडेर राजनीतिक गतिविधिमा लागेपछि सरकारले विद्यालयमा राजनीतिलाई निस्तेज बनाउन यस्तो नीति कार्यान्वयनमा ल्याएको हो ।

तरपनि शिक्षकहरु राजनीतिमा लाग्ने र अध्यापन भन्दा राजनीतिक कार्यक्रममा बढी अग्रसर हुने प्रवृत्ती रोकिएको छैन । धादिङको सिद्धलेक गाउँपालिका ३ स्थित श्री अमर आदर्श माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सरकारी नीतिको धज्जी उडाउँदै खुलेआम एमालेको राजनीतिमा लागेको पाइएको छ ।

गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालकाे सिफारिसमा संघीय सरकारले जारी गरेको नीतिको उल्लंघन गर्दै सरकारी सेवामा रहेका शिक्षक झम्क नारायण श्रेष्ठलाई सिद्धलेक गाउँपालिका ३ मा एमालेको वडा सचिव चयन  गरिएकाे हाे । उनी सरकारी कोटामा विद्यालयको लेखापाल नियुक्त भएका हुन् भने विद्यालयमा अध्यापन पनि गर्दै आएका छन् ।

शनिबार सम्पन्न वडा अधिवेशनबाट उनलाई सचिव पदमा चयन गरिएको गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

राजनीतिमा लाग्नका लागि सरकारी सेवाबाट अलग हुनुपर्ने प्रावधान छ । तर वडा कमिटीको सचिव चयन भएका श्रेष्ठले न त शिक्षकबाट राजीनामा गरेका छन् न त राजीनामाको तयारी नै । सरकारी जिम्मेवारीमा रहेका शिक्षक श्रेष्ठ खुल्लेआम राजनीतिक दलको नेता बनेको भन्दै स्थानीय स्तरमा आलोचना समेत हुँदै आएका छन् ।

त्यसो त यसअघि उनी गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवाल र वडा अध्यक्ष देव बहादुर पुलामीको सिफारिसमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालकाे गाँउपालिका कमिटीकाे उपाध्यक्ष समेत बनेका थिए ।

शिक्षक श्रेष्ठ भन्छन्, ‘मलाई यस्तो कानुन थाहा थिएन’

विद्यालय कर्मचारी र शिक्षकको हैसियतमा रहेका झम्क नारायण श्रेष्ठले आफूलाई यस्तो नियम थाहा नभएको बताएका छन् । मेनसमाचारसँगको कुराकानीमा उनले ०६५ सालदेखि नै विद्यालयमा काम गर्दै आएको बताएका छन् । लेखापालको जिम्मेवारीमा रहेपनि ९ र १० कक्षालाई आफूले नेपाली विषय पढाउँदै आएको उनले बताए ।

आफू यसअघि नै युवासंघको गाउँपालिका उपाध्यक्ष भइसकेको र हाल सचिवमा चुनिएको तर कर्मचारीले राजनीति गर्न नपाउने कुरा आफूलाई थाहा नभएको उनले बताए । ‘मलाइ कसैले यसबारेमा जानकारी पनि गराएनन्, तपाइँले भनिदिनुभयाे धन्यवाद ‘, उनले भने । श्रेष्ठल आफू नियमानुसार विद्यालय कर्मचारीबाट राजीनामा गर्न पनि तयार रहेको बताए ।

सिद्धलेकका शिक्षा अधिकृत भन्छन्, ‘देशैभरी यस्तै छ, मैले केही गर्न सक्दिनँ’

सिद्धलेक गाउँपालिकाको शिक्षा शाखा प्रमुखमा नियुक्त भएपछि प्रविनबाबु भट्टराईले गाउँपालिकाभित्र शिक्षकहरुलाई राजनीति गर्न पूर्ण रुपमा बन्देज लगाउने बताएका थिए । तर, खुलेआम रुपमा शिक्षकहरु राजनीतिक जिम्मेवारी लिँदै गर्दा समेत उनले कुनै कदम भने चालेका छैनन् ।

मेनसमाचारसँगको कुराकानीमा प्रमुख भट्टराईले झम्क नारायण श्रेष्ठको संरक्षणमा प्रतिक्रिया दिएका छन् । ‘संघीय सरकारको नियमानुसार शिक्षकलाई राजनीतिमा लाग्न पूर्ण रुपमा बन्देज गरेको छ तर गाउँपालिकाको नियमावलीमा शिक्षकले राजनीति गर्न हुन्न भन्ने लेखिएको छैन,’ उनले भने ।

यस विषयमा आफूले कुनैपनि कारवाही गर्न नसक्ने पनि प्रमुख भट्टराईले बताए । ‘मैले केही गर्न सक्दिन संघीय सरकार र स्थानीय सरकारको ऐन र नियमावली बाझिएको छ । त्यसकारण मैले गर्न सक्ने भनेको केबल ध्यानाकर्षण मात्र हो, कारवाही गर्ने अधिकार मलाई छैन,’ उनले भने ।

प्रमुख भट्टराईले संघीय सरकारको नीति स्थानीय स्तरका राजनीतिक दलका नेतृत्वहरुले नै नटेर्ने बताए । ‘नियम कानुननका कुराहरु यहाँ कसले मान्ने ?’ उनले प्रतिप्रश्न गरे । यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतमार्फत गाउँपालिकाको कार्यापालिका बैठकमा यस विषय उठान गर्ने प्रतिवद्धता व्यक्त गरे ।साभार: मेन समाचार डटकमबाट।

८ कार्तिक २०७८, सोमबार १७:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस