|  

हानेपाद्वारा समर्थन फिर्ता : मुख्यमन्त्री जम्कट्टेललाई बहुमत पुर्‍याउन सकस

१४ चैत्र २०८०, बुधबार १४:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । सत्ता गठबन्धन बदलिएपछि बहुमत सिद्ध गर्न प्रयासरत रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल थप कठिनाइतर्फ धकेलिएका छन्। विश्वासको मतका लागि समर्थन गरिदेला भन्ने अन्तिम आस गरिएको हाम्रो नेपाली पार्टी हानेपाले पनि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट बहुमत नपाउने सम्भावना बढेको छ।

हानेपाले मंगलबार प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाउँदै समर्थन फिर्ताको जानकारी गराएको हो। ‘हाल प्रदेशको राजनीतिक परिदृश्यमा आएको फेरबदललाई मध्येनजर राख्दै त्यस सरकारलाई हाम्रो नेपाली पार्टीले दिएको समर्थन फिर्ता लिएको व्यहोरा जानकारी गराउँदै आगामी दिनमा संसद्‌मा जिम्मेवार प्रतिपक्षको भूमिकामा रही आम नागरिकको सेवामा रहने दृढ संकल्प लिएको अवगत गराउँदछु’, हानेपाका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले पठाएको पत्रमा भनिएको छ।

यसअघि गत फागुन २३ मा कांग्रेसका ६ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिएको अवगत गराएका थिए। कांग्रेसले समर्थन फिर्ता लिएपछि नै मुख्यमन्त्री जम्कट्टेल प्रदेश सभामा विश्वासको मत लिनुपर्ने बाध्यतामा परेका थिए। त्यसपछि उनले विभिन्न दलहरूलाई फकाउनका लागि संवाद अघि बढाएका थिए।

 

१४ चैत्र २०८०, बुधबार १४:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस